केही नेताहरुले टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता छैन : अध्यक्ष ओली

  कार्तिक ०५, २०७९

काठमाडौं,कात्तिक ५ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यक्ता नरहेको बताएका छन् । भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैं टिकट पाउनुपर्ने छ र ? भनि प्रश्न समेत गरे ।

शनिबार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर सो अवसर अरुलाई दिइएको स्पष्टीकरण समेत दिए । ओलीले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरु एकाधले अरुलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरुले फेरी टिकट नपाउनु स्वभाविक भएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।

उनले एमालेमा न्याय हुने र त्यो न्याय सापेक्षामा आधारित हुने आश्वासन समेत दिए । आवश्यक्ता भन्दा बढी अवसर पाएकाहरु फेरि पनि अवसरको पछि कुँदेको भन्दै ओलीले त्यस्ता प्रवृत्तिको पछि लाग्न नहुने भनाइ राखे । अध्यक्ष ओलीले आगामी दिनमा योग्यता, क्षमता र योगदानको आधारमा हरेकलाई अवसर दिने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले भने, ‘केही नबुझेर केही बुझिबुझिकन फलानो व्यक्तिले किन पाएन ? दुई जना मान्छेका लागि । अनि काशिनाथ अधिकारी जस्तो अरुले त हिजो अस्तीसम्म भन्नुस्न असोज ३ गतेसम्म । असोज ३ गतेसम्म सांसद रहिरहेका मान्छेले, २०४८ सालदेखि सांसद भएका छन्, भएका छन् । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन्, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवा तथा खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री । नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ ।’

उनले फेरि भने, ‘उसलाई किन बनाइएन भनेर रुवाबासी छ । अनि एकै जना मान्छेले मात्रै पाईरहनुपर्ने छ र ? काम कस्तो गरेको छ, त्यो नभनौं । पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन । पार्टीको हितमा एक शब्द बोलेको होइन । आन्दोलनको हितमा एक शब्द बोलेको होइन । अरु अरु ठाउँमा तमासा देखाइएको छ । त्यस्तो मान्छे एकाधले पाएन । स्वभाविक हो नि । पालो गर्नु पर्दैन ? अरुलाई पनि त पालो गर्नु पर्छ नि त । पार्टीको पक्षमा त्यस्तो असाधारण भूमिका भएपनि ल उहाँको भूमिका आवश्यक छ, उहाँ नभइकन पार्लियामेन्ट चल्दैन, उहाँ नभईकन देश हाँकिदैन भन्ने स्थिति त होइन । यस्ता कुराहरुको पछि नलाग्न पनि म हाम्रो साथीहरुलाई आग्रह गर्न चाहन्छु । कुनै सेन्टिमेन्टमा बग्नुपर्ने आवश्यक्ता छैन ।’

उनले थप भने, ‘म के भन्न चाहन्छु भने, नेकपा एमालेमा न्याय हुन्छ । तर न्याय खुदै न्याय भनेको फेरी यस्तो चिज हो नि न्याय अनि सापेक्षा पनि हुन्छ । निरपेक्ष पनि हुँदैन । वास्तवमा भन्ने हो भने काशीनाथजीले न्याय पाउनु भएको छैन । मैले खाली मैले एउटा दृष्टान्त मात्रै भनेको हो । धेरैले न्याय पाएको छैन । अनि, कतिपय मान्छेहरुले पर्याप्त अवसरहरु पाएका छन् । आवश्यक्ता भन्दा बढी अवसर पाएका छन । र, फेरी अवसरकै पछि कुँदेका छन् । काममा पछि होइन । योगदान गर्नुपर्छ भन्ने भावना होइन । मैले पाउनुपर्छ, मैले के पाए ? यो मात्रै हिसाव छ । अरुले पाएनन् । अरु पनि खटेका छन् यतापट्टी होइन । नेकपा एमालेको भावना त्यस्तो छैन्, हुनु हुँदैन ।’

यसका साथै अध्यक्ष ओलीले आफूहरु समृद्ध नेपाल बनाउने संकल्पमा रहेको बताउँदै भनेका छन्, ‘पालो त आइहाल्छ । अर्को कुरा हामी निर्वाचन जित्नु पनि परेको छ । निर्वाचन जित्ने, सरकार ठीक ढंगले चलाउने, संसद ठीक ढंगले चलाउने र पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी हुन नदिने । अब गुटबन्दी नेकपा एमालेभित्र छैन । हुँदैन, हुन दिइदैन । कोही काखा, कोही पाखा हुँदैन । कोही नजिक, कोही टाढा हुँदैन ।’

उनले थपे, ‘कोही अवसरै अवसरले थिचिने कोही अवसरको नजिक पनि पुग्ने नपाउने यस्तो खालको असमान र विभेदकारी व्यवहार पनि अव हुँदैन । एउटाले पाएपछि पाएको छ, पाएको छ । अर्कोले नपाएपछि नपाएको छ, नपाएको छ । यस्तो पनि हुँदैन । सकेसम्म सबैलाई यथोचित ढंगले योग्यता, क्षमता र योगदान सबै चिजको इतिहास को कदर गरेर जिम्मेवारी दिने परिपार्टी, मूल्यांकनको आधारमा जिम्मेवारी दिने परिपार्टी बसालिनेछ । विगतमा कमीकमजोरी भएभने सच्याएर अघि बढन सकिन्छ ।’

अध्यक्ष ओलीले मंसिर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउनका लागि योगदान गर्न सबैलाई आह्वान गरे । उनले परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार मुलुकलाई आवश्यक रहेको दोहो¥याउँदै त्यस लक्ष्य प्राप्तीका लागि आगामी मंसिर ४ गतेको निर्वाचन सार्थक हुने विश्वास समेत व्यक्त गरे ।

अध्यक्ष ओलीले भने, ‘अव परमादेश होइन् जनादेश खासगरी मंसिर ४ गतेको निर्वाचनबाट जनादेशमार्फत् बलियो, देशलाई स्थिरता दिन सक्ने खालको मजबुत सरकार, देशको विकासलाई अगाडि बढाउन सक्ने खालको, देशमा सुशासन दिन सक्ने खालको स्थिर सरकार यसको व्यवस्था हामी मंसीर ४ गतेको निर्वाचनबाट गर्दैछौं । त्यसकारण म सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरुलाई यो निर्वाचन साधारण आवधिक निर्वाचन मात्रै होइन ।’

उनले फेरि भने, ‘यो निर्वाचन वास्तवमा असाधारण निर्णय गर्नुपर्ने, देश जित्ने कि हार्ने भन्ने कुराको टुंगो लाग्ने निर्वाचन यस्तो फैसला गर्नुपर्नेछ, यस निर्वाचनबाट । म सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु–यो निर्वाचनलाई हामीले सार्थक निर्वाचन र देशका निम्ति, देशको हितको पक्षमा फैसला गर्ने गरीको निर्वाचनको रुपमा यसलाई अगाडि बढाउन म सबैलाई योगदान गर्न आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले परमादेशी सरकार बनाउने गम्भिर गल्ती विगतमा गरेपनि अव न्यायालयले त्यस्तो खालको गल्ती नगरोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको बताए ।

तपाईको प्रतिक्रिया