पोखरा, कात्तिक ४ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विशेष परिस्थितिलाई सम्हाल्दै देशको विकासका लागि अग्रगामी शक्ति एक भएको बताउनुभएको छ। शुक्रबार पोखरामा आयोजित सत्ता गठबन्धनको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो।
उहाँले आगामी निर्वाचनमा जनतालाई देश विकासका लागि अग्रगामी शक्ति एक ठाउँमा उभिएको जनकारी दिनुपर्ने बताउनुभयो। गठबन्धन एक हुँदा प्रतिपक्ष दलले माओवादी र कांग्रेसको विषयमा विरोधी कुरा ल्याइरहेको भन्दै त्यसलाई गठबन्धनका दलले चिर्न सक्नुपर्ने उहाँको भनाइ छ ।
मुख्यमन्त्री पोखरेलले मुलुकमा परिवर्तन गर्ने दुई शक्ति भनेको नेपाली कांग्रेस र माओवादी तथा एकीकृत समाजवादी भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘हामी निरङ्कुशताविरुद्ध लडेका थियौँ। बीचमा सामान्य अवस्थामा देश गयो। यो मुलुकमा परिवर्तन गर्ने दुई शक्ति एउटा लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस र अर्को वामपन्थी शक्ति हो। जसको मुलधारमा अहिले आएर माओवादी र एकीकृत समाजवादी आएको छ।
यो संयुक्त प्रयत्नले मुलुकमा परिवर्तन ल्याएको छ र अहिलेको संविधानमाथिको निर्ममतापूर्वक अतिक्रमण भएको छ, प्रतिगमन भएको छ, त्योविरुद्ध हामी एक ठाउँमा रहनु हाम्रो स्वाभाविक प्रक्रिया हो।’’ मुख्यमन्त्री पोखरेलले संविधानमाथिको अतिक्रमण र प्रतिगमनविरुद्ध एकजुट हुनु स्वाभाविक भएको बताउनुभयो।






