सुर्खेत, कात्तिक ३ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि मङ्सिर ४ को निर्वाचन ऐतिहासिक भएको बताउनुभएको छ ।
उपसभापति खड्काले संविधान संशोधनमार्फत जनताका हकअधिकारलाई स्थापित गर्न र अधुरा विकास योजनालाई सम्पन्न गर्न तथा रोजगारी सिर्जना हुने ठूला विकास योजना सञ्चालन गर्न गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।
सुर्खेत क्षेत्र नं १ का मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले मङ्सिर ४ को निर्वाचनपछि मुलुकको राजनीति कता जान्छ भन्ने निक्र्योल गर्ने बताउनुभयो । उहाँले ७० वर्षको नेपाली जनताको सङ्घर्षपछि जारी गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि मतदाताले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभयो ।
उहाँले संविधान बाँकी कामलाई पूर्णता दिनका लागि पनि लोकतान्त्रिक वाम गठबन्धनको जीत आवश्यक रहेको बताउनुभयो । “संविधानको रक्षा गर्न, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न र अधुरा विकास योजनालाई पूर्णता दिँदै विकासको द्रुततर विकासका लागि लोकतान्त्रिक वाम गठबन्धन बनेको हो”, खड्काले भन्नुभयो ।
उपसभापति खड्काले मङ्सिर ४ को निर्वाचन केवल हार र जीतसँग मात्रै नजोडिएको बताउँदै संविधानको रक्षा, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न संविधान संशोधनमार्फत सबै क्षेत्र, लिङ्ग, वर्ग, धर्म र समुदायको अधिकार स्थापित गर्न र मुलुकको आर्थिक रूपान्तरणसँग पनि जोडिएको छ । छिन्चु–घारीवन–बाल्चे–सल्यान जोड्ने सडकलाई पाँच वर्षभित्र कालोपत्र गर्ने घोषणा गर्नुभयो ।






