राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिताबारे जानकारी

  असोज २४, २०७९

अर्घाखाँची, असोज २४ : मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार, राजनीतिक दल र स्वतन्त्रका उम्मेदवारलाई निर्वाचन आचारसंहिताको बारेमा जानकारी गराएको छ ।

निर्वाचन आचारसंहिता सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम राखेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार, राजनीतिक दल, सुरक्षा निकाय, सरकारी कार्यालयका प्रमुख तथा सञ्चारकर्मीलाई मङ्सिर ४ गते हुने निर्वाचनको आचारसंहिताका विषयमा जानकारी गराएको हो ।

राजनीतिक दल, उम्मेदवार, तीनका भ्रातृ संस्था तथा सञ्चारकर्मी र मिडियाले गर्नुपर्ने आचारसंहिताका विषयमा जिल्ला निर्वाचन अधिकृत सुरेश भण्डारीले सो अवसरमा जानकारी गराउनुभयो । उहाँले आचारसंहिताको पालना नगरेमा हुने कारबाहीको बारेमा पनि जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा राजनीतिक दल तथा स्वतन्त्रबाट सङ्घ र प्रदेशमा उम्मेदवारी दिएकाहरुले आचारसंहिता पूर्णरूपमा कार्यन्वयन गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । अर्घाखाँचीमा सङ्घतर्फ ११, प्रदेश ‘क’ मा आठ र प्रदेश ‘ख’ मा नौ गरी २८ जनाको उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृत डा श्री कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

उहाँले निर्वाचनको समयमा सामाजिक सञ्जाल र मिडिया प्रयोगको बारेमा उम्मेदवार र दलका प्रतिनिधिलाई जानकारी गराउनुभएको थियो । निर्वाचन स्वच्छ, भयरहित वातावरणमा सम्पन्न हुने भएकाले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई ढुक्क भएर आचारसंहिताभित्र बसेर निर्वाचन केन्द्रित कार्यक्रम गर्न प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले आग्रह गर्नुभयो । जिल्लामा एक लाख ६४ हजार सात सय ६८ मतदाता छन् ।

तपाईको प्रतिक्रिया