काठमाडौँ, असोज २३ : कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द शर्मा कोइरालाले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु-याउन अधिकतम प्रयास गरेको बताउनुभएको छ ।
सिंहदरबारस्थित कानुन मन्त्रालयमा आज आफ्नो कार्यकालको अन्तिम दिन आफूले गरेको कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग (तेस्रो संशोधन) विधेयक–२०७९ अधिकतम प्रयास गरेर अन्तिम अवस्थामा रहेको बताउनुभयो ।
“नेपालमा शान्ति प्रक्रिया लामो समयसम्म रह्यो, आठ वर्षसम्म आयोग राखियो”, मन्त्री कोइरालाले भन्नुभयो, “सबै प्रयत्न गरियो, संसद्को कार्यकाल सकिएकाले अघि बढ्न सकेन तर सबै तयारी अवस्थामा छ ।” मन्त्री कोइरालाले सत्तापक्ष र प्रमुख प्रतिपक्षले सहयोग गरेको भए पनि समय हुँदा पनि सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा केही राजनीति भएर अघि बढ्न नसकेको सुनाउनुभयो ।
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु-याउने उद्देश्यका साथ कानुनका विज्ञको हैसियतले कोइरालालाई गत चैत २४ गते कानुनमन्त्रीमा नियुक्त गरिएको थियोे । आज ६ महिनाको कार्यकाल पूरा भएर बिदाइ हुनुभएको हो ।






