हिमालपारिको गाउँ लिमीमा हिमपात, जनजीवन प्रभावित

  असोज २१, २०७९

हुुम्ला, असोज २१ : दुई दिनदेखि लगातार परेको वर्षापछि नाम्खा गाउँपालिका –६ हिमालपारिको गाउँ लिमीमा हिमपात सुरु भएको छ । बिहीवार रातिबाट हिमपात सुरु भएको स्थानीयले बताउनुभएको हो ।

लिमी हल्जी गाउँका स्थानीय छिरिङ मेष्टा तामाङले रातिबाट सुुरु भएको हिमपात अहिले पनि जारी रहेको बताउनुभयो । दुुई दिन लगातार वर्षा भएको भए पनि बिहीबार रातिबाट हिमपात भइरहेको उहाँले जानकारी दिनुभयो ।

अहिलेसम्म आधा फिट हिउँ जमेको छ उहाँको भनाइ छ । हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । लिमीका तीन वटै गाउँ तील, हल्जी र जाँङमा हिउँ परेका कारण सेताम्मे देखिएका छ । हिउँ परिरहेका कारण चिसो बढेको हुँदा तापक्रम माइनसमा झरेको स्थानीयले बताउनुभएको छ ।

लिमीका यी गाउँ चार हजारदेखि चार हजार दुई सय मिटर उचाइमा छन् । स्थानीयले बाक्लो हिमपात परिरहेको कारण हिउँ कति पर्छ भनेर अहिले नै भन्न नसकिने बताएका छन् । अघिल्लो हिमपातले क्षति गरेको बालीलाई किसानहरुले भित्र्याउने क्रम अन्तिम चरणमा रहेको बताएका छन् ।

हिउँ परेपछि अग्ला पाटनमा पालनका लागि लगिएका चौंरीगाईलाई समस्या भएको छ । त्यसैगरी तील गाउँ जोड्ने लिमी कर्णाली नदीमाथि बन्दै गरेको गाडी चल्ने काठेपुलको निर्माणकार्य पनि रोकिएको छ । त्यसैगरी लाप्चा, तुम्लिङ, ताक्ची क्षेत्रमा पनि हिमपात भइरहेको छ ।

लिमी जाने बाटो पर्ने पाँच हजार मिटर अग्लो न्यालुु लेकमा पनि बाक्लो हिमपात जमेको कारण सडक अवरुद्ध भएको छ । यसैबीच प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले हिल्सा, यारी, लिमीको सुुनखानीमा पनि हिमपात भइरहेको बताउनुुभयो । तीनै स्थानमा प्रहरी चौकी छ ।

हिमपात भएपछि प्रहरीलाई समेत कठिन भएको उहाँले बताउनुुभयो । यी क्षेत्रमा यस वर्षको यो दोस्रो हिमपात भएको उहाँले बताउनुभयो । यसअघि असोज पहिलो हप्ता लिमीमा हिमपात भएको थियो । त्यसैगरी सदरमुुकाम सिमकोटको अग्ला हिमालमा पनि हिमपात भइरहेको छ ।

तपाईको प्रतिक्रिया