काठमाडौं, असोज २० : हिलाम्मे बनाएको दसैँ आजको दिन पनि मौसम बदली हुँदा देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा दक्षिण–पश्चिम बङ्गालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।
देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बिहीबार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन -चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै, बागमती प्रदेश,मधेश प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
यसैबीच काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ भने उपत्यकाका विभिन्न स्थान जलमग्न भएको छ ।






