नारायणीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउन काम सुरु

  असोज १५, २०७९

चितवन, असोज १५ : नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन् । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रूपमा तीनवटै योजनाको काम अघि बढेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले पद मार्ग, पार्किङस्थल लगायतको काम गर्दैछ । सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले आरतीस्थल निर्माण र विद्युतीकरणको काम गर्दैछ ।

नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक गणेश मरासिनीका अनुसार कार्यालयले नारायणगढको नारायणी पुलदेखि उत्तरतर्फ नौ सय ८५ मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्दैछ । नदीको सतहदेखि २.५ मिटर उचाइमा ११ खुट्किला निर्माण गर्दैछ । रु. १९ करोड ८६ लाख अनुमानित लागतमा बोलपत्र आह्वान गरिएको उहाँले जानकारी दिनुभयो ।

खुट्किलाको सतह दुई मिटर चौडा हुन्छ भने अन्य खुट्किला ५० सेन्टिमिटर चौडा हुन्छन् । उहाँको भनाइमा माथिल्लो तह ४.५ मिटर फराकिलो हुनेछ । सो भागको ठाउँठाउँमा आकर्षक गोलाकार बनाएर वृक्षारोपण गरिने छ । पाँच मिटरको फरकमा बिरुवा लगाइने उहाँले जानकारी दिनुभयो ।

आयोजनाका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार एक वर्ष ६ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । उहाँले भन्नुभयो, “बाढीले नबगाउने गरी आकर्षक ढङ्गले सिँढी निर्माण गरिँदै छ ।” यसले तटबन्धको काम गर्ने, सौन्दर्यकरण बढाउने र नदी प्रयोगकर्तालाई सहज हुने उहाँको भनाइ छ । यो तटबन्धका कारण नवलपरासीतर्फको भूभागमा कुनै असर नपरोस् भन्नका लागि ध्यान दिइएको छ ।

भरतपुर महानगरपालिकाका इन्जिनियर अस्मिता खनालका अनुसार पर्यटन विभागले नदीको तटीय क्षेत्रमा काम गरिरहेको छ । उहाँका अनुसार नारायणी नदी किनारलाई व्यवस्थित र सुन्दर बनाउन महानगरको गुरुयोजनाअन्तर्गत २.४ किलोमिटर पदयात्रा, एक सय हाराहारी चारपाङ्ग्रे सवारी अट्ने दुई वटा पार्किङस्थल, बगैँचालगायत निर्माणका काम भइरहेको छ । रु. छ करोड ५० लाख बजेटमा काम भइरहेको छ ।

यस ठाउँमा बगैँचा, फुटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट, बीच भलिबल, अन्य खेलका लागि छुट्टै भूभाग, बालुवा तथा बालबालिकाको खेल, अवलोकन क्षेत्र, विश्रामस्थल, शौचालय, पार्किङलगायत संरचना निर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । खनालका अनुसार नारायणीको पुलबाट नारायणी लिफ्ट सिँचाइसम्मको २ दशमलव ५ किलोमिटर लामो सो भूभाग १५ बिघा क्षेत्रमा फैलिएको छ ।

तटबन्ध बाहेकका रु २९ करोड ३१ लाख खर्च हुने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । नदी किनारको दुईतर्फको छेउमा हाल भएको संरचनालाई व्यवस्थित गरिनेछ । बीचको भागमा धार्मिक क्षेत्र, प्रदर्शनी क्षेत्र र खेल क्षेत्रका लागि छुट्टाछुट्टै स्थान तय गरिएको छ । ती क्षेत्रभित्र पैदलमार्ग, साइकल मार्ग, प्रदर्शनी, आरती, धार्मिक प्रवेश र हरियाली क्षेत्र रहनेछन् । सघन सहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरभित्र स्मार्ट सिटी गुरुयोजना अनुरूपको रु ५० करोडको बोलपत्र आह्वान गरेको छ ।

आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार नारायणी नदीको सोही क्षेत्रमा आरती प्लेटफर्म निर्माण गर्दैछ । आरती क्षेत्र वरपर बत्ती राख्दैछ । उहाँका अनुसार झण्डै रु. दुई करोडको काम आयोजनाले नारायणी नदी किनारमा गर्दैछ । उहाँले भन्नुभयो, “हामीले अरू मन्त्रालयले गरिरहेका काम नजुध्ने गरी समन्वय गरेर गर्दैछौँ ।”

उहाँका अनुसार सुरुमा पदमार्गलगायत काम महानगरकै बजेटबाट थालिएको हो । महानगरले सो क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको ‘सी बीच’ मोडलमा विकास गर्ने गुरुयोजनाअनुसार सङ्घीय मन्त्रालयले सहकार्य गरेको उहाँको भनाइ छ । काम नजुध्ने गरी व्यवस्थित ढङ्गले अघि बढाइने दाहाल बताउनुहुन्छ ।

महानगरको सहरी क्षेत्रमा बसोबास गर्नेका लागि नदी किनार निकै उपयोगी हुनेछ भने आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक केन्द्रबिन्दु बन्ने प्रमुख दाहालको विश्वास छ । पवित्र तीर्थस्थल देवघाट र नवलपरासी क्षेत्र नदी किनारबाट अवलोकन गर्न सकिनेछ । दाहालका अनुसार किनारका संरचना बन्दै गर्दा विभिन्न खेल खेल्न सकिनेछ । दाहालले भन्नुभयो, “म पहिलो पटक प्रमुख भएसँगै नारायणी नदी किनारलाई व्यवस्थित गर्ने योजनाअनुसार कामले गति लिएको छ ।”

सामुन्द्रिक किनारको अनुभूति त्यहाँ पुग्ने जो कोहीले पाउने गरी संरचना निर्माण गर्न लागिएको उहाँको भनाइ छ । मुख्यरुपमा आन्तरिक पर्यटक र बाह्यलाई नदी किनार महत्त्वपूर्ण गन्तव्य बन्नेछ । धार्मिक दृष्टिले नारायणी नदी महत्त्वपूर्ण मानिन्छ ।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले विश्वका ठूला सहरमा पर्यटकको मुख्य आकर्षण नदी र सामुन्द्रिक किनार हुने भए पनि यहाँ नदीलाई उपयोग गर्न नसकिएको बताउनुभयो ।

उहाँले नेपालमा धेरै सुन्दर नदी भएको तर त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षणमा नदी र तिनका किनार क्षेत्र कमै मात्र पर्ने गरेको बताउनुभयो । नारायणी नदी किनारलाई आकर्षक गन्तव्य बनाइने उहाँले बताउनुभयो ।

पर्यटकीय नगरी सौराहालाई नारायणी नदी किनारसँग जोड्ने हो भने यहाँ थप पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया