‘ट्री हाउस’ ले बढायो आन्तरिक पर्यटक

  असोज ०६, २०७९

बाँके, असोज ६ : बर्दियाको गेरुवा गाउँपालिका–१ मा रहेको ओखरिया इन्टेक पर्यटकको रोजाइमा परेको छ । सो क्षेत्रमा आन्तरिक पर्यटक आउन थालेका गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र गेरुवा गाउँपालिका–१ मा रहेको सो ठाउँ आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएपछि स्थानीय खुसी हुन थालेका छन् ।

पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ स्थानीय सरकारले विभिन्न संरचना निर्माणका काम थालेसँगै त्यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको हो । कर्णाली नदीको मनोरम दृश्य, डाँडाकाँडा, शान्त वातावरणको गेरुवा र राजापुर क्षेत्रमा लाग्ने पानीको मुख्य मुहान नै ओखरिया हो ।

अचेल बर्दिया, बाँके, कैलालीलगायतका जिल्लाबाट यो मौसममा घुम्न आउने पर्यटकको लर्को लागेको छ । ओखरियाका बारेमा सुनेपछि यहाँँ आएको र यहाँको वातवरणले मोहित पारेको बारबर्दिया मगरागाडीका पतिराम थारु बताउनुहुन्छ ।

बजारको कोलाहलबाट एक दिन भएपनि शान्त वातावरणको खोजी गर्दै यहाँ घुम्न आएको पर्यटक बताउँछन् । यो क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्नु खुशीको विषय भएको र यसको व्यवस्थापकीय विकास तथा पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्नुपर्ने गेरुवा गाउँपालिका–१ का पूर्व वडाध्यक्ष दयाराम थारुको भनाइ छ ।

अहिले आन्तरिक पर्यटक मात्र आउने जाने गरे पनि यो क्षेत्रको प्रचारप्रसार हुन र आवश्यक पूर्वाधारको निर्माण गर्नसके समग्र भौरा टप्पु विकासमा यो क्षेत्र महत्वपूर्ण हुने उहाँको भनाइ छ । कर्णाली नदीको दृश्यका साथै चुरे पहाड सहजै देख्न सकिने यस क्षेत्रमा अहिले उद्यान र ट्री हाउस निर्माण गरिएको छ ।

आगामी दिनमा कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालन गर्ने पालिकाको तयारी छ । ओखरिया इन्टेक क्षेत्रको व्यापक प्रचारप्रसार गर्न आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउनसके यस क्षेत्रका बासिन्दाको जीवनस्तर माथि उठ्ने गाउँपालिका अध्यक्ष केसी बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया