११ बुँदे घोषणापत्र जारी गर्दै चिकित्सक सङ्घको सम्मेलन सम्पन्न

  असोज ०५, २०७९

काठमाडौं,असोज ५ : नेपाल चिकित्सक सङ्घको  दोस्रो राष्ट्रिय सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

सङ्घका अध्यक्षा डा. लोचन कार्कीले महामारी रोकथामका बेलाका सिकाइ र अनुभवलाई विश्लेषण गरेर स्वास्थ्य प्रणालीलाई थप सक्रिय बनाउन नेपाल चिकित्सक सङ्घले विशेष पहल गर्नेलगायत ११ बुँदे घोषणापत्र जारी गरेको जानकारी दिनुभयो ।

उक्त घोषणपत्र स्वास्थ्य मन्त्रालयलाई बुझाउने डा. कार्कीले बताउनुभयो। घोषणपत्रले सरकारले स्वास्थ्य क्षेत्रको नीति बनाउँदा दस्तावेजको काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

घोषणापत्रमा कोभिड महामारी र भविष्यमा आउन सक्ने यस्तै प्रकारका अन्य महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि बहुपक्षीय सहकार्यको अवधारणालाई सबै तहमा प्रभावकारी रुपमा कार्यान्वयन गर्न पहल गर्ने उल्लेख छ।

त्यसैगरी तीनै तहका सरकारको समन्वय, सहकार्य र साझेदारीलाई सुदृढ र प्रभावकारी बनाउँदै संविधानप्रदत्त स्वास्थ्य अधिकारको सुनिश्चितता गर्न तीनै तहका सरकारको सहभागितामा राष्ट्रिय स्वास्थ्य सभाको आयोजना गर्ने घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रमा आपतकालीन अवस्थाको पूर्वतयारी, प्रतिकार्य र रोकथाम लगायत कार्यको लागि राष्ट्रिय रोग नियन्त्रण केन्द्र स्थापनाको पहल गर्ने, राष्ट्रिय स्वास्थ्य संस्था प्रत्ययन बोर्डको स्थापना गर्ने, औषधि व्यवस्था विभागको क्षमता र दायरा बढाउने, छुट्टै मानव संसाधन विभागको स्थापना गर्नेलगायत उल्लेख छ।

मङ्गलबार र बुधबार  दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न सात वटा विषयमा छलफल भएको छ।

तपाईको प्रतिक्रिया