धनगढी, असोज ४ : चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीले काठमाडौं जान अस्वीकार गर्नु भएको छ। अनशनका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि नेपाल सरकारको निर्णयमा थप उपचारका लागि उहाँलाई मङ्गलबार काठमाडौं लग्ने प्रयास गरिएको थियो। तर, केसीले काठमाडौं जान नमानेको उहाँका सहयोगी डा. अमृत जैसीले जानकारी दिनुभयो।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत डा केसीको स्वास्थ्यको ख्याल गर्दै थप उपचारका लागि काठमाडौँ लैजान नेपाली सेनाको स्काइ ट्रक (जहाज) आज धनगढी पुगेको भए पनि उहाँले काठमाडौँ जान अस्वीकार गर्नुभएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उहाँको स्वास्थ्य बचाउनुपर्ने छ, तर उहाँले काठमाडौँ नजाने अडान राखिरहनुभएको छ ।”
चिकित्सा शिक्षाको सुधारको माग गर्दै बीसौँ पटक धनगढीको गीत सत्सङ्ग भवनमा उहाँ अनशन बस्नुभएको थियो । स्वास्थ्य अवस्थामा समस्या आएपछि उपचारका लागि उहाँलाई सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिएको थियो । अस्पतालका फिजिसिएन डा शेरबहादुर कमरले डा केसीलाई श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, मुटुको धड्कन बढ्ने, तौल घटेको, थकान महसुस हुनेजस्ता स्वास्थ्य समस्या देखिएको जानकारी दिनुभयो ।
उहाँको रगतमा चिनीको मात्रा कम भएको, शरीरमा पोषणतत्व र पानीको अभाव भई प्रेसर कम हुँदै गएकाले जुनसुकै समयमा पनि ज्यान जोखिममा पर्नसक्ने खतरा देखिएपछि अस्पतालले उहाँलाई बहुविशेषज्ञ भएको विशिष्ट अस्पतालमा स्थानान्तरण गर्न स्वास्थ्य मन्त्रालय, स्थानीय प्रशासन, मानवअधिकार आयोगलगायतलाई सोमबार जानकारी गराएको थियो ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा उहाँले मुखबाट पानी र नशाबाट रिङ्गर ल्याक्टेटबाहेक कुनै पनि पदार्थ लिन निषेध गर्नु भई स्वास्थ्य अवस्था जोखिममा पर्ने खतरा देखिएकाले विशिष्ट अस्पतालमा स्थानान्तरण गर्नुपर्ने उल्लेख गरिएको छ । यसैबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले आजै अस्पताल पुगेर डा केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ । त्यस क्रममा मन्त्री बोहराले प्रदेश सरकारको क्षेत्राधिकार पर्ने माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको थियो ।






