काठमाडौँ, असोज ३ : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन गर्दै साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सरकार लागिरहेको उल्लेख गर्नुभएको छ।
उहाँले नेपाली कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानबाट घोषणा भएको नेपालको संविधानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नु आजको कार्यभार भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाको सन्देशमा नेपाली जनताको चाहनाअनुरूप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतीलाई अन्त्य गरी जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको कुरा उल्लेख गरिएको छ।






