सुदूरपश्चिम, भदौ ३१ : पाँच दिनदेखि कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।
चिकित्सा शिक्षाको सुधारको माग गर्दै बिसौँ पटक अनशन बस्नुभएका डा केसीको स्वास्थ्य अवस्थामा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी भर्ना गरिएको छ ।
अस्पतालका चिकित्सक डा शेरबहादुर कमरले डा केसीमा श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, रिङगटा लाग्ने, मुटुको धड्कन बढ्ने, थकान महसुस हुने जस्ता समस्या देखिएको जानकारी दिनुभयो ।
डा कमरले भन्नुभयो, “पाँच दिनदेखि केही पनि नखाई अनशन बस्नु भएकाले उहाँको रगतमा चिनीको मात्रा कम भएको, शरीरमा पोषणतत्व र पानीको अभाव भई रक्तचाप कम हुँदै गएकाले जुनसुकै समयमा पनि ज्यान जोखिममा पर्नसक्ने खतरा छ ।”
डा केसीलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ । यसअघि पनि उहाँ पटकपटक अनशन बस्नुभएको थियो । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सेती प्रादेशिक अस्पताल पुगेर डा केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ ।
डा. केसीका मागबारे वार्ता गर्न टोली गठन
सरकारले प्रा. डा. गोविन्द केसीले पछिल्लो समयमा उठाएका माग र उहाँको अनशनका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महेन्द्र पन्थले विज्ञप्ति जारी गर्दै सो जानकारी गराउनुभएको हो ।
मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि रहेको टोली गठन गरिएको उहाँको भनाइ छ । विज्ञप्तिमा अनशन तोडेर वार्तामा आउन डा केसीलाई आग्रह गरिएको छ ।






