नेपालगञ्ज, भदौ ३१ : बाँकेका उर्दु साहित्यकारहरूको साझा सङ्गठन गुलजार ए अदबले निरन्तर उर्दु कवि सम्मेलन र अन्य साहित्यिक गतिविधि गर्दै आएको छ ।
उर्दु भाषा सँगसँगै अन्य सबै भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उर्दु साहित्यकारद्वारा गठन गरिएको संस्थाले गत केही समययता निरन्तर उर्दु कवि सम्मेलन र बहुभाषिक कविगोष्ठीको आयोजना गर्दै आएको छ।
केही समय पहिलेसम्म कहिलेकाहीँ मात्रै हुँदै आएको कवि सम्मेलन अहिले हरेक साता गरिने गरिएको गुलजार ए अदबका अध्यक्ष तथा वरिष्ठ सायर अब्दुल लतिफ सौकले बताउनुभयो । उहाँले युवापुस्तामा उर्दु सायरीप्रति आकर्षण बढ्दै गएको पाइएकोले आफूहरूले यसलाई निरन्तरता दिइएको बताउनुभयो ।
निरन्तर सम्मेलनको आयोजना गरिन थालिएपछि अहिले कार्यक्रम हुनुभन्दा पहिले नै एक ‘मिसरा’ दिएर सोही ‘मिसरा’ केन्द्रित भई उर्दु गजल लेख्ने र सुन्ने सुनाउने कार्य भइरहेको उर्दुका युवा सायर जमिल अहमद हासमीले बताउनुभयो।