काभ्रेपलाञ्चोकमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

  भदौ ३०, २०७९

काभ्रेपलान्चोक, भदौ ३० : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरामा पुरिएर पहिरोमा परी एकै परिवारका तीन जनाको निधन भएको छ ।

जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार बिहीबार बिहान  करिब दुई बजे आएको पहिरोमा परी स्थानीय ठुलीमायाँ तामाङ, उहाँका ४४ वर्षीय छोरा निर बहादुर तामाङ र ४० बर्सिया छोरी सावित्री तामाङको मृत्यु भएको हो ।

प्रहरी उपरीक्षक जोशीले ठुलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पताल बनेपा र निर बहादुर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको बताउनुभयो । उहाँले पहिरोका कारण ठुलीमायाँको घरमा रहेका केहि बाख्रा समेत पुरिएको बताउनुभयो ।

पहिरोले घरसँगै रहेको चलालगणेशस्थान रोडा ढुङ्गा खानीका दुई वटा एक्स्काभेटर समेत परिएको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा निरबहादुर र सावित्रीको शव निकालिएको हो ।

वडा अध्यक्ष कृष्णबहादुर तामाङले घरसँगै रहेको ढुङ्गा खानीमा दिउँसो एक्स्काभेटर लगाएर ढुङ्गा निकाल्ने काम गरिएको र राती परेको पानीका कारण जमिन गलेर खानीसँगै रहेको घरको माथिबाट पहिरो आएको बताउनुभयो । उहाँले खानीकै कारण पहिरो गई तामाङको परिवारको निधन भएको बताउनुभयो ।

पालिकाभित्र सञ्चालित खानी तथा उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न गाउँपालिकाले जिल्ला समन्वय समितिसँगको समन्वयमा अनुगमन गरी करिब एक हप्ता अगाडि मात्रै निर्देशन दिएको थियो । त्यस्ता उद्योग मापदण्डभित्र रहेर सञ्चालन गर्न र दर्ता तथा आवश्यक कागजात नभएका खानी र उद्योगलाई मापदण्ड पु-याएर मात्रै सञ्चालन गर्न निर्देशन दिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया