राजकीय थाई विहार लुम्बिनीमा शाकाहारी भोजन दान

  भदौ २८, २०७९

सिद्धानगर, भदौ २८ : महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निःशुल्क शाकाहारी भोजन दान गरिएको छ । लुम्बिनीस्थित राजकीय थाई विहार र विश्व प्रकाश प्रतिष्ठानको सहकार्यमा निःशुल्क शाकाहारी खाना खुवाउने कार्यक्रम भएको हो । लुम्बिनीको थाई विहार परिसरमा भदौ २५ गतेदेखि सुरु भएको भोजन दान भदौ २९ गतेसम्म चल्नेछ ।

लुम्बिनीमा रहेका बौद्ध भिक्षु, लुम्बिनी विकास कोषका कर्मचारी, स्थानीय, विद्यार्थी र पर्यटकलाई भोजन दान गरिएको थाई विहारले जनाएको छ । पाँच दिवसीय शाकाहारी भोजन दान बुद्धको जन्मेको पवित्रस्थलमा गर्दा अंहिसाको मार्गलाई संसारभर पु¥याउनका लागि गरिएको हो ।

राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोट भन्तेले भन्नुभयो, “शाकाहारी भोजनले मानिसको जीवनमा शुद्धता ल्याउन सहयोग गर्दछ । लुम्बिनी क्षेत्रमा शाकाहारी भोजनलाई प्राथमिकतामा राख्न सकिए बुद्ध वचनले सार्थकता पाउनेछ ।”

भन्तेका अनुसार लुम्बिनीमा आउन चाहने संसारभरका बौद्ध धर्मावलम्बी, पर्यटक र पर्यटन व्यवसायीलाई सकारात्मक सन्देश दिनका लागि समेत शाकाहारी भोजन दान गरिएको हो ।

गत वर्षदेखि सुरु गरिएको निःशुल्क भोजनदानलाई निरन्तरता दिने अभियानमा आफूहरू रहेको विश्व प्रकाश प्रतिष्ठान थाइल्यान्डका अध्यक्ष मणिराम भुसालले जानकारी दिनुभयो । दैनिक सात सयभन्दा बढीको सङ्ख्यामा मानिसहरू अहिले लुम्बिनीमा भएको भोजन दानमा सहभागी भएका छन् ।

भुसालले भन्नुभयो, “मानव शरीरलाई पवित्र बनाउनका लागि यो अभियान सुरु गरिएको हो । जुन थाइल्यान्डदेखि सुरु भएर संसारभरका २७ देशमा पुगेको छ ।” उहाँका अनुसार अमेरिका, कम्बोडिया, लाओस, मलेसिया, बर्मा, सिङ्गापुर र नेपालमा वैधानिक रुपमा दर्ता भएर विश्व प्रकाश प्रतिष्ठानले नैतिक शिक्षासमेत प्रदान गर्न सुरु गरेको छ ।

आध्यात्म र नैतिक शिक्षालाई अगाडि बढाउनका लागि लुम्बिनीमा रहेको थाई बौद्ध विहारको भूमिका महत्वपूर्ण छ । विगत २० वर्षभन्दा अगाडिदेखि लुम्बिनीको विकास र विस्तारमा समेत राजकीय थाई विहार लुम्बिनीले सहयोग पु¥याएको लुम्बिनी विकास कोषले जनाएको छ ।

थाई विहारले लुम्बिनी आसपासको क्षेत्रमा विभिन्न समयमा निःशुल्क आँखा शिविर तथा मोतियाविन्दुको शल्यक्रियासमेत निःशुल्क गराउने गरेको लुम्बिनीवासी बताउँछन् । कोरोनाको महामारीको समयमा समेत अग्रस्थानमा खटिने स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई थाई विहार लुम्बिनीले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई शाकाहारी भोजनको अभियानको नेतृत्व गरेको थाई विहारले शान्ति र अहिंसाको मार्गलाई समेत आत्मसात् गरेको देखिन्छ । बुद्ध वचनको सधैँ परिपालक राजकीय थाई विहार लुम्बिनीले नेपालमा नैतिक शिक्षा र बौद्ध ज्ञानलाई मानिसको मनसम्म पु¥याउने काम गरिरहेको छ ।

लुम्बिनीमा बौद्ध धर्मावलम्बी र पर्यटक आगमनका लागि भूमिका खेलेको थाई विहारले सामाजिक क्षेत्रमा समेत विभिन्न कामहरू गरेको स्थानीयहरू बताउँछन् । नेपालमा रहेका बुद्धस्थलको प्रचार र प्रसारमा लुम्बिनी विकास कोषसँग थाई विहार लुम्बिनीले सहकार्य गरेको विकास कोषको सूचना शाखाले जनाएको छ । बौद्ध दर्शनको विकास र विस्तारका लागि नवलपरासीको रामग्राम, कपिलवस्तुको तिलौराकोट र कुदानमा समेत थाई विहारहरू रहेका छन् ।

तपाईको प्रतिक्रिया