नरैनापुरको विषयमा खेलकुद, ऊर्जा र कृषि मन्त्रीबीच छलफल

  भदौ २३, २०७९

काठमाडौं, भदौ २३ : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा ऊर्जा र कृषि मन्त्रीसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

बाँके क्षेत्र नम्बर १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री अथकले ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालसँग भेटेर छलफल गर्नुभएको हो ।

लामो समयदेखिको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरिएको जानकारी गराउँदै मन्त्री अथकले त्यस क्षेत्रमा तत्काल पानीको स्रोतका लागि डिप बोरिङको व्यवस्था गरिदिन ऊर्जा मन्त्री भुसालसँग माग गर्नुभएको छ । सुख्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरिकलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री अथकले तत्कालका लागि डिप बोरिङ र दीर्घकालीन रूपमा सिक्टा सिंचाइ आयोजनामार्फत नरैनापुरका कृषकलाई सिचाइको व्यवस्था गर्नेतर्फ ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताउनुभएको थियो। जवाफमा ऊर्जा मन्त्री भुसालले सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।

यसैबीच मन्त्री अथकले बुधबार नै कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवसँग भेटेर नरैनापुरका कृषकका लागि तत्काल राहत प्याकेज ल्याउन आग्रह गर्नुभएको छ । अर्थ मन्त्री र आफूले समेत त्यस क्षेत्रको स्थलगत निरीक्षण गरिसकेकाले तत्काल राहत प्याकेजको प्रस्ताव क्याबिनेटमा लैजान मन्त्री अथकले आग्रह गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया