बेइजिङ्, भदौ २० : चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २१ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा ६.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
सिचुवानको शिमियान काउन्टीमा १४ जनाको मृत्यु भएको छ भने नजिकैको लुडिङ काउन्टीमा सात जनाको मृत्यु भएको सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।
प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस घरभित्रै थुनिएका छन् भने नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले एएफपीलाई बताएका छन् ।
छेन्दुका चेनले भन्नुभयो, “मैले यसलाई धेरै शक्तिशाली महसुस गरेँ । भुइँतलामा रहेका मेरा केही छिमेकीले भूकम्पको धक्का निकै धेरै महसुस गरेका बताए ।”
भूकम्पका कारण पर्वतीय पहिरोका कारण कम्तीमा एक सहरमा ठूलो क्षति पुगेको सीसीटीभीले जनाएको छ ।
अर्को शहरमा जाने बाटो अवरुद्ध भएको छ मानिसहरू बसोबास गर्ने १०० भन्दा बढी क्षेत्रहरूमा दूरसञ्चार लाइनहरू काटिएको छ । धक्काले गार्जे र याआनका क्षेत्रहरूमा केही पावर स्टेशनहरू पनि अवरूद्ध भएका छन् ।
सीसीटीभीले प्रसारण गरेको फुटेजमा गार्जेमा क्षतिग्रस्त भवन र ढलेका संरचनाका भग्नाबशेष सडक देखिन्छ ।
राष्ट्रपति सीद्वारा भूकम्प पीडितको उद्धारका लागि सबै प्रयत्न गर्न आग्रह
चिनियाँ राष्ट्रपति सी चिनफिङले दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा सोमबार गएको ६.८ म्याग्निच्युडको भूकम्प पीडित र प्रभावितको उद्धार कार्यलाई पजिलो प्राथमिकताको रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले सोमबार उक्त निर्देशन दिनु भएको हो ।
चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । प्रान्तीय राजधानी छेन्दुमा भूकम्पका कारण लाखौं मानिस घरभित्रै थुनिएका छन् भने नजिकैको शहर चोङकिङमा पनि भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले एएफपीलाई बताएका छन् ।






