सर्लाहीबाट थापाको नाम सिफारिस, केन्द्रबाट टिकट पाउनेमा सिंह ढुक्क

  भदौ २०, २०७९

सर्लाही, भदौ २० : सर्लाहीको क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस भएको छ । सोमबार बिहान बसेको नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिको बैठकले मङ्सिर ४ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा थापाको एकल नाम सिफारिस भएको हो । २०७० र ०७४ सालमा लगातार दुई पटक यो क्षेत्रबाट कांग्रेसका डा. अमरेशकुमार सिंह निर्वाचित हुनुभएको थियो ।

सिंह यो पटक पनि चुनाव लड्ने तयारीमा हुनुहुन्छ । तर, क्षेत्रीय कार्य समितिको बैठकले सिंहको नाम सिफारिस गरेन । कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सभापति रामआश्रय साहले सङ्घीय सांसदका लागि महामन्त्री थापाको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिनुभयो ।

क्षेत्रीय कार्य समितिको बैठकमा सहभागी नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति एवं प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले सबैको मागअनुसार प्रतिनिधिसभातर्फ महामन्त्री थापाको एकल नाम सिफारिस गरिएको बताउनुभयो, “सबैले उहाँकै नाम सिफारिस गरौँ भन्नुभयो, सोही अनुसार एकल नाम पठाइएको हो,” मन्त्री सिंहले भन्नुभयो ।

पार्टीको संस्थापन पक्षका मन्त्री सिंह आफैँ पनि क्षेत्र नं. ४ (क) बाट पुनः प्रदेशसभा सदस्यको उम्मेदवारका रूपमा एकल सिफारिसमा पर्नुभएको छ । क्षेत्रीय कार्य समितिको सिफारिसमा नपर्नु भएका सांसद डा. अमरेशकुमार सिंहले भने क्षेत्र नं. ४ बाट पुनः आफूले नै टिकट पाउने दाबी गर्नुभएको छ ।

“दुई चार जना बसेर कसैको नाम सिफारिस गर्दैमा केही फरक पर्दैन, पार्टीले मलाई नै टिकट दिन्छ, त्यसमा म ढुक्क छु,” सिंहले गोरखापत्रसँग भन्नुभयो, “म फेरि पनि चुनाव लड्ने हो ।” सांसद सिंह नेता डा. शेखर कोइराला निकट मानिनुहुन्छ ।

सङ्घीय सांसद डा. अमरेशकुमार सिंह र प्रदेश सरकारका मन्त्री वीरेन्द्रप्रसाद सिंह पक्षबीच जिल्ला अधिवेशनमा विवाद भएको थियो । डा. सिंहले आफूसँग बोलचाल नै नभएका व्यक्तिहरूले आफ्नो नाम सिफारिस गर्ने आशा समेत नगरेको र क्षेत्रले सिफारिस नगरे पनि पार्टीले आफूलाई टिकट दिने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेसको बलियो पकड मानिने क्षेत्र नं. ४ मा पछिल्लो समय सिंहद्वयबीच एकले अर्कोको राजनीति नै सिद्ध्याउने हिसाबले टकराब बढ्दा सो क्षेत्रमा कांग्रेस कमजोर बन्न पुगेको विश्लेषण भइरहेको छ ।

नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति लक्ष्मण रायले निर्वाचित सांसदलाई निषेध नै गरेर एकलौटी हिसाबले उम्मेदवार सिफारिस गरेको सुन्दा दुःख लागेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया