कमाउने छोराको हात काटियो, परिवारमा बिचल्ली

  भदौ २०, २०७९

बैतडी, भदौ २० : रोजगारी खोज्न भारतको कश्मिर पुगेका बैतडीका २५ वर्षीय हिमाल बिष्टको काम गर्नेबेलामा मेशिनमा अल्झेर दायाँ हात काटिएपछि उहाँको परिवारमा विचल्ली भएको छ । आर्थिक समस्याले उपचारमा समेत समस्या भएको छ ।

बैतडीको पाटन नगरपालिका –६, टुणेगैरका २५ वर्षीय बिष्ट एक महिनाअघि धन कमाएर परिवारलाई खुसी राख्ने सपना बोकेर भारत जानुभएको थियो । गाउँमा कुनै रोजगारी नहुँदा बिष्ट बोल्न नसक्ने अपाङ्ग आमा, गर्भवति श्रीमती र तीन वर्षीया छोरीलाई छाडेर रोजगारीका लागि भारतको कश्मिर पुग्नुभएको थियो ।

कमाई गरेर घर धान्ने २५ वर्षीय हिमाल बिष्ट त्यहाँ पुगेको महिना दिन नपुग्दै हात काटिएको खबरले ७० वर्षीया आमा मैना बिष्ट, श्रीमती र तीन वर्षीया चिन्तामा पर्नुभएको छ ।

७० वर्षीया आमा मैना बिष्ट जन्मजात जिव्रोको समस्याले बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ । उहाँकी श्रीमति भागरती बिष्ट र तीन वर्षीया छोरी मेनुका बिष्ट सहयोगका लागि याचना गरिरहनुभएको छ ।

“विदेशमा चिनेजानेको कोही छैन । छिमेकीसँग पीडा पोख्न पनि आमा बोल्न सक्नु हुन्न”, स्थानीय छिमेकी नातेदार हरिश बिष्टले भन्नुभयो, “भारतमै रहनु भएका मजदुर वीरेन्द्र बिष्टले अस्पताल लगेर उपचार गराए पनि आर्थिक अभावले समस्या भएको छ ।”

भारतमा हात काटिएका युवाको उपचारमा सहयोग गर्न सामाजिक सञ्जाल फेसबुकबाट आर्थिक सङ्कलन अभियान चलाएको पाटन–६, का स्थानीय दिनेश बिष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरमा अपाङ्ग आमा, श्रीमती र तीन वर्षीया छोरीको बिचल्ली भएको छ । यस्तो दुःखको घडीमा आफ्नै छिमेकी नातेदार भएकाले निकै दुःख लागेको छ । सक्दो सहयोग हामी पनि गर्दैछौं । अरुले पनि सहयोग गर्नुहोला ।”

स्वदेशमा रोजगारी नहुँदा बैतडीको पाटनलगायत जिल्लाका अधिकांश युवा भारत लगायत खाडी मुलुक जानेगरेका छन् । विदेशबाट धन कमाएर परिवारको गर्जो टार्ने सपना बुनेर विदेशिएका कयौं युवा रोजगारीका क्रममा ज्यान गुमाइँदैआएका छन् ।

तपाईको प्रतिक्रिया