आरक्ष विस्थापितका समस्या समाधानका लागि सरकार गम्भीर छ : मन्त्री यादव

  भदौ १९, २०७९

काठमाडौँ, भदौ १९ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितको समस्या समाधान गर्न गठित आयोगद्वारा बुझाइएको प्रारम्भिक प्रतिवेदन आज मन्त्रालयमा बुझ्दै उहाँले विस्थापितको समस्या समाधनका लागि सबै निकायमा पहल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विस्थापित तथा पीडितका विषयमा गहन रुपमा अध्ययन गरी समस्या समाधानका लागि पहल गर्छौ ।” यसैगरी मन्त्री यादवले कोसी टप्पु वन्यजन्तु आरक्ष विस्थापितका हकमा आवश्यक जानकारी बुझ्न मन्त्रालय मातहतका निकायलाई आजै निर्देशन दिनुभएको छ ।

आरक्ष विस्थापितको समस्या समाधान गर्ने आयोगका अध्यक्ष राजकुमार राईले आयोग गठन भएपछि हालसम्म गरेका काम कारबाहीका विषयमा एक प्रारम्भिक प्रतिवेदन तयार गरी मन्त्री यादवलाई बुझाउनुभएको थियो ।

आयोगका अध्यक्ष राईले बुझाउनु भएको उक्त प्रारम्भिक प्रतिवेदनमा टिओआरमा उल्लेख भए अनुरुपका र जग्गा मुआब्जा नपाएका कोसी आरक्ष विस्थापितका हकमा घरबासका निमित्त जग्गा व्यवस्थापन हुनुपर्ने, अन्यको हकमा सम्पूर्ण अध्ययन अनुसन्धान गरी उचित व्यवस्थापन हुनुपर्ने उल्लेख गरिएको छ ।

विसं २०३३ मा कोसी टप्पु वन्यजन्तु आरक्षको विस्तार गर्ने क्रममा सरकारले सुनसरी र सप्तरीमा करिब चार हजारभन्दा बढी बिघा जग्गा लिएको थियो । जग्गा अधिग्रहणका बखत जग्गाको सट्टामा जग्गा दिने सहमति गरिएको भए पनि त्यहाँका विस्थापितले अहिलेसम्म पनि जग्गा नपाएको गुनासो रहेको छ ।

कतिपयलाई सरकारले जग्गा धनी प्रमाण पूर्जा दिई मालपोतको तिरो तिर्दै आए पनि उक्त जग्गा पीडितले भोगचलन गर्न नपाएको र गैर विस्थापितले कब्जा गरेको आरक्ष विस्थापितको समस्या समाधान गर्न गठित आयोगका विज्ञ सल्लाहकार श्याम लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार आरक्ष पीडतका समस्या समाधानका लागि हालसम्म २१ वटा आयोग गठन भए पनि समस्या समाधान हुनसकेका छैनन्

तपाईको प्रतिक्रिया