अझै हुन सकेन मुक्तकमैयाको न्यायोचित पुनःस्थापना

  भदौ १५, २०७९

कञ्चनपुर, भदौ १५ : सरकारले मुक्त घोषणा गरेको दुई दशकभन्दा बढी हुँदा पनि यहाँका मुक्तकमैयाको न्यायोचित पुनःस्थापनाको कार्य हुन सकेको छैन ।

मुक्तकमैयालाई पुनः स्थापना गर्दा खोला बगर, वन क्षेत्र, सुकुम्बासीले भोग चलन गरेको जग्गा उपलब्ध गराउँदा नदी कटानसँगै बसोबास गर्न नसकिने बाटो किनार जङ्गलका छेउछाउको जग्गामा बस्न बाध्य पारिएको मुक्तकमैयाका अगुवाले बताउनुभयो । शिक्षा, स्वास्थ्य, रोजगारमा मुक्त कमैयाको पहुँच नपुगाइएको मुक्तकमैया अगुवाको भनाइ छ ।

“मुक्तकमैयाको जीविकोपार्जन गर्न कुनै विकल्प छैन”, मुक्तकमैया समाजका अध्यक्ष घाँसीराम रानाले भन्नुभयो, “वर्षायाममा र गर्मीयाम सिजनल मजदुरीबाहेक काम पाउने अवस्था छैन ।”

रोजगारीका लागि छिमेकी देश भारत गएर न्यून ज्यालामा काम गर्नुपर्ने भएकाले जीवन निर्वाह गर्न समस्या भएको उहाँले उल्लेख गर्नुभयो । जग्गा बन्धक राख्न नपाउने भएकामा सीप भएकाले कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नसकि व्यवसाय गर्न नपाएको समाजका सचिव रामप्रसाद रानाले बताउनुभयो ।

मुक्त कमैया बालबालिका शिक्षाबाट वञ्चित भइरहेको उल्लेख गर्दै रानाले विद्यालय भर्ना गरे पनि आर्थिक अभावले बीचमै विद्यालय छुटाएर कमलरी लगाउन बाध्य भएको बताउनुभयो । “आर्थिक अभावले धेरै बाललबालिका उच्च शिक्षासम्म पुग्न सक्दैनन्”, उहाँले भन्नुभयो, “उच्च शिक्षा अध्ययन गरिरहेका बालबालिकालाई छात्रवृत्ति उपलब्ध नहुँदा समस्या छ ।”

बस्तीमा विद्यालय भए पनि शिक्षक दरबन्दी नहुँदा सञ्चालनमा समस्या रहेको उहाँको भनाइ छ । मुक्तकमैया अगुवा लाहुरे डगौराले हालसम्म जग्गा पाएर पुनःस्थापन भएका मुक्त कमैयाको सङख्या चार हजार दुई सय ८९ रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार जग्गा सट्टा पाएका एक सय २९, पुनःस्थापना हुन बाँकी एक सय २९ र पुनःस्थापना भएका जग्गा नदीले कटान गरी विस्थापनमा परेका मुक्तकमैयाको सङख्या तीन सय ६१ रहेको छ । हालसम्म ‘क’ वर्गको रातो परिचयपत्र पाएका तीन हजार नौ सय २४, ‘ख’ वर्गको निलो परिचयपत्र पाएका चार सय ९५, ‘ग’ वर्गको पहेलो परिचयपत्र पाएका ३३ र ‘घ’ वर्गको सेतो परिचयपत्र पाएका गरी जम्मा चार हजार पाँच सय पाँचले मुक्तकमैया परिचयपत्र पाएका छन् ।

तपाईको प्रतिक्रिया