काठमाडौं, भदौ १३ : आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन परेका छन् ।
“आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि विभिन्न ७६ वटा दलबाट ६८ वटा निवेदन परेका छन्” सहायक प्रवक्ता अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन परेका छन् ।”
प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं १ मा विभिन्न ६३ दलबाट ५५ निवेदन, मधेस प्रदेशमा ६७ दलबाट ५९ निवेदन, बागमती प्रदेशमा ६६ दलबाट ५८ निवेदन परेको छ । गण्डकी प्रदेशमा ६० दलबाट ५२ निवेदन, लुम्बिनी प्रदेशमा ६२ दलबाट ५४ निवेदन, कर्णाली प्रदेशमा ५७ दलबाट ४९ निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८, दलबाट ५० निवेदन परेको आयोगले जनाएको छ ।






