निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने : सहमहामन्त्री आङदेम्बे

  भदौ ११, २०७९

पाँचथर, भदौ ११ : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले सङ्घीय र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने बताउनुभएको छ ।

गृहजिल्ला पाँचथर आइपुग्नुभएका आङदेम्बेले नेपाल प्रेस युनियन जिल्ला शाखाले सदरमुकाम फिदिममा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धनमा आवद्ध दलबीच सिटको भागवण्डाबारे छलफल चलिरहेको बताउनुभयो । एउटा मात्र निर्वाचन क्षेत्र भएकाले आफू सङ्घीय उम्मेदवार बन्ने उहाँले बताउनुभयो ।

पटक–पटक सरकार परिवर्तन र मन्त्री फेरिरहँदा सरकारले दिगो विकास र लक्ष्यअनुरुप काम गर्न नसक्ने हुँदा स्थायी सरकार बन्न आवश्यक रहेको सहमहामन्त्री आङदेम्बको भनाइ छ । “स्थायी सरकार बनेर नागरिकको काम गर्नका निम्ति पनि अहिलेको गठबन्धनलाई निरन्तरता दिनुको विकल्प छैन”, उहाँले भन्नुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रदीपकुमार सुनवार, प्रदेश नं १ समिति सदस्य उत्तम चौलागाईँलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया