काठमाडौं, भदौ ७ : पाँच दलीय सत्ता गठबन्धनमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे सकारात्मक छलफल भएको छ । सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सिट बाँडफाँटका विभिन्न मोडालिटीबारे छलफल भएको र चाँडै निष्कर्षमा पुग्ने जानकारी दिनुभयो । गठबन्धनभित्र आगामी निर्वाचनका लागि भदौ ९ गतेसम्म सिट बाँडफाँटको टुंगो लगाउने कसरत भएको उहाँले बताउनुभयो ।
आगामी निर्वाचन तालिका प्रकाशित भइसकेकाले पनि बैठक जतिसक्दो चाँडो निष्कर्षमा पुग्ने उहाँको भनाइ छ । “नेताहरुले एक्ला, एक्लै पनि कुरा गर्नुहुनेछ । जुन सहज ढंगले सिट बाँडफाँटको समस्या समाधान गर्छौ”, उहाँले भन्नुभएको छ । उहाँले नेपाली कांग्रेस नेता एवं गठबन्धनको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको अस्वस्थताका कारण बैठक केही प्रभावित भएकाले बैठक भोलि पुनः बस्ने जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता थियो ।
गठबन्धनभित्र आगामी निर्वाचनका लागि भदौ ९ गतेसम्म सिट बाँडफाँटको टुंगो लगाउने कसरत भएको छ । कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धनको बैठक सकारात्मक रुपले अघि बढेको बताउनुभयो ।
उहाँले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि चाँडै निष्कर्षमा पुग्ने बताउनुहुँदै सिट बाँडफाँटमा समस्या छ कि भन्ने आशंका छिट्टै दुर हुने भनाइ राख्नुभयो ।
मन्त्री कार्कीले भन्नुभयो, “संयोजक कृष्णप्रसाद सिटौला अस्वस्थ हुनुभएको छ। कतिपय कुरा संयोजकले ब्रिफ गर्नुपर्ने हुन्छ। कार्यदल र नेतृत्वबीच सहमतिको नजिक हामी पुगेका छौं । धेरै किसिमको मोडालिटीबारे छलफल गरेका छौं ।”






