मन्त्री यादवद्वारा बुडर–बङ्क–नायल सडकको वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन स्वीकृत

  साउन २०, २०७९

काठमाडौँ, साउन २० : वन तथा वातावरणमन्त्री प्रदीप यादवले डोटीको बुडर तथा कञ्चनपुर जिल्लाको बङ्क–नायल सडकको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नुभएको छ ।

करिब १२ दशमलव पाँच किलोमिटर लम्बाइ रहेको उक्त सडकको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन लामो समयदेखि स्वीकृत नहुँदा सडक निर्माणमा समस्या हुँदै आएको थियो ।

मन्त्री यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम मन्त्रिस्तरीय निर्णय गर्नु भई उक्त सडकको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नुभएको हो ।

प्रतिवेदन स्वीकृत भएपछि अब उक्त सडक निर्माणका लागि सहज भएको मन्त्रालयले जनाएको छ । उक्त सडक निर्माण भएपछि अब कञ्चनपुरबाट डडेल्धुरा जानका लागि कम्तिमा पनि तीन घण्टा मात्रै लाग्ने बङ्कका स्थानीयवासी तथा समाजसेवी सुरेन्द्र बमले जानकारी दिनुभयो ।

यसैगरी मन्त्री यादवले लुम्बिनी प्रदेश सरुवा रोग अस्पताल कपिलवस्तुमा रहेको ५० शय्या तथा बाँझकटेरी–ढोरपाटन खण्ड -सालझण्डी–सन्धिखर्क–ढोरपाटन ७१ किमी सडक, हुम्ला, कर्णाली जलविद्युत आयोजना (६०.७४ मेगावाट) हुम्ला, रहफ–भैरवस्थान–भानकोट–कालिकोट–हिल्सा चीन सडक तथा मेची महाकाली विद्युतीय रेलमार्गको निजगढ–हेटौँडा–भरतपुर खण्डको पनि मन्त्रिस्तरीय निर्णय गर्नु भई वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया