काठमाडौँ, साउन १७ : गृहमन्त्री बालकृष्ण खाणले चुस्त सुरक्षा व्यवस्थाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले यसका लागि सुरक्षा निकायलाई पर्याप्त सवारी साधनको खाँचो रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरुको बैठकमा मन्त्री खाणले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सवारी साधन भाडामा लिएर भएपनि सुरक्षाको जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सवारी साधनको व्यापक परिचालन आवश्यक पर्नेमा जोड दिनुभयो ।
मुलुकभरका अधिकांश कारागार भवन जिर्ण भएका र क्षमताभन्दा बढी कैदी राखिने गरेको जानकारी गराउँदै मन्त्री खाणले निर्माणाधीन भवनको काम यथाशीघ्र सम्पन्न गर्न शहरी विकास मन्त्रालय र सम्बन्धित निकायसँग आग्रह गर्नुभयो ।
उपलब्ध बजेट खर्च गर्नमा ध्यान केन्द्रित गरौँ : अर्थमन्त्री शर्मा
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटको कमी भएको भन्ने मन्त्रीहरुको गुनासोका सम्बन्धमा बजेट थप माग गर्नेभन्दा पनि भएको बजेट खर्च गर्नमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।
समष्टिगत आर्थिक परिसूचक अवगत गराउँदै मन्त्री शर्माले सिमेन्ट, स्टिल, जुत्ता, हाते निर्माण सामग्री, सेवाका क्षेत्रमा निर्यात गरी व्यापार घाटा कम गर्न सकिनेतर्फ सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने बताउनुभयो ।
मन्त्री शर्माले अनावश्यक सरकारी संरचनाका बारेमा पुनःविचार गरी हटाउनुपर्ने र केही संस्थानका बारेमा सञ्चानको ढाँचा नयाँ तरिकाले अघि बढाउनुपर्ने सुझाव दिँदै उहाँले बजेट कार्यान्वयनमा जनसहभागिता हुन सके मात्र दिगो हुने धारणा व्यक्त गर्नुभयो ।
आर्थिक स्थायित्वका लागि कृषिमा आत्मनिर्भर आवश्यक : सञ्चारमन्त्री कार्की
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दिगो र आर्थिक स्थायित्वका लागि कृषिमा आत्मनिर्भर बन्न अपरिहार्य रहेको बताउनुभयो । उहाँले यसका लागि समयमै मल आपूर्तिको व्यवस्था मिलाउनुपर्ने र यसमा कृषि मन्त्रालयले मात्र नभई सबैले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री कार्कीले विदेशी मुद्राको आय बढाउन सूचना प्रविधि र पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै यसका लागि बजेट र नीति कार्यक्रममा स्रोत सुनिश्चितताका लागि आग्रह गर्नुभयो ।
द्रुतमार्ग निर्माण शीघ्र सम्पन्न गर्न जरुरी छ : उपाध्यक्ष डा पौडेल
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले पेट्रोलियम पदार्थको प्रयोग कम गर्न र यसमा हुने खर्च घटाउन काठमाडौँ–तराई मधेस दु्रत मार्ग शीघ्र सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
उहाँले आयोजना सम्पन्न गर्दा जग्गा प्राप्ति, बिजुली र खानेपानीका संरचना हटाउने, नदीजन्य पदार्थको प्रयोग, जङ्गल, मुआब्जा, कानुनीलगायत समस्या हुने गरेको उल्लेख गर्दै समाधानका लागि सबै मन्त्रालयबीच समन्वयको खाँचो आँैल्याउनुभयो ।
बैठकमा विभिन्न मन्त्रालयका मन्त्रीहरुले आफ्नो मन्त्रालयका गतिविधि, उपलब्धि र चुनौतीका बारेमा अवगत गराउनुभएको थियो भने नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले सरकारका उपलब्धि र चुनौतीबारे प्रकाश पार्दै स्वागत गर्नुभएको थियो ।
बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालले आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम एवं बजेटको कार्यान्वयनको अवस्था एवं चालु आव २०७९-८० को कार्ययोजनासम्बन्धी जानकारी गराउनुभएको थियो ।






