हडैया गाउँमा रेशम खेती अभियान

  साउन १७, २०७९

– नारायणी रजौरे
दाङ, साउन १७ : दाङको गढवा यसैपनि गर्मी नै हुने ठाउँमा पर्छ । वरपरका गाउँका खेतबारी केही खाली छन् केहीमा धान रोपाइँ भइरहेको छ । त्यहीँबाट केही पर पुगेपछि भने हरियाली छ रेशम खेतीको । गढवा गाउँपालिका– ४ हडैया गाउँको हो यो रेशम खेती ।

हडैया गाउँको करिब ६० बिघा जमिनमा फैलिएको छ यो खेती । जसले हरियालीसँगै गाउँको शोभा पनि बढाएको छ । विगतका केही वर्षदेखि हडैया गाउँमा व्यक्तिगत तथा सामूहिक रुपमा रेशम खेती गर्ने अभियान नै सुरु भएको छ ।

यस अभियानका अगुवा मानिनुहुन्छ धादिङका किसान महेशदत्त अधिकारी । सो गाउँमा सबैभन्दा पहिले धादिङको गल्छी गाउँपालिका–४ भल्टारका किसान अधिकारीले रेशम खेती सुरु गर्नुभएको हो । उहाँले हडैया गाउँलाई रेशम खेतीबाट हरियाली बनाएपछि यसले अरु किसानलाई प्रेरणा दिएको हो । उहाँले सुुरुमा खाली रहेको १० विघा जमिन भाडामा लिएर रेशम खेती थाल्नुभयो । अहिले पनि उहाँ यही खेतीमा रमाउनुभएको छ ।

गएको पाँच वर्षदेखि ३६ वर्षीय अधिकारी रेशम खेतीमै हुनुहुन्छ । “बुबाले धादिङमा ३६ वर्षदेखि यही खेती गरिरहनुभएकोले बुबाकै प्रेरणाबाट यस खेतीमा लागेको हुँ अहिले धादिङमा पनि खेती छ”, उहाँले भन्नुभयो ।

रेशम खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले यही पेसा अपनाएको र आगामी दिनमा यसलाई अझै बढाउने योजना रहेको उहाँको भनाइ छ । अधिकारीको भनाइ छ, “दाङमा यसको सम्भावना राम्रो रहेको र जमिन पनि पर्याप्त भएकाले यहाँ आएर खेती गरेको हुँ ।” यहाँ आएर स्ुरुमा रेशम खेती गर्नुप¥यो भन्दा गाउँलेले विश्वास नगरेको अनुभव उहाँले सुनाउनुभयो ।

डेढवर्षमा बाँझोबारी हरियो भयो । त्यसपछि रेशम कीराका लार्भा ल्याएर उहाँले पाल्न सुरु गर्नुभयो ।”

अधिकारी भन्नुहुन्छ, “अनि सबै गाउँले छक्क परे । त्यसपछि किमुका पात टिप्दै रेशम कीराका लार्भालाई खुवाउँदै, हुर्काउँदै कोकुन उत्पादन गरेँ, यो प्रक्रियाले उनीहरुमा चाख पनि बढायो । कोकुन उत्पादन भएर त्यसबाट गाउँमै धागो उत्पादन गर्न थालेपछि किसान आकर्षित भए ।”

अधिकारीले अहिले कोकुनबाट धागो निकाल्ने कामका लागि गाउँका १५ जनालाई रोजगारी पनि दिनुभएको छ । उहाँको काम देखेर हडैया र त्यस आसपासका अन्य गाउँका किसान पनि यस खेतीतर्फ आकर्षित भएका छन् ।

अहिले यहाँ विभिन्न ६ वटा समूह नै बनाएर सामूहिक र केही किसानले व्यक्तिगत रुपमा त्यहाँको ५० बिघा जमिनमा रेशम खेती गरेका छन् । दाङमा तयार भएको कोकुनबाट धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बनाउने काम भने धादिङ्बाट गर्दै आएको उहाँले बताउनुभयो ।

आफनो उद्योग धादिङ र काठमाडाँैमा रहेको उहाँ बताउनुहुन्छ । अब केही समयपछि दाङबाट प्रशोधन गर्ने र कपडा बनाउने आफनो योजना रहेको उहाँको भनाइ छ । सबै खर्च कटाएर वार्षिक २५ देखि ३० लाख रुपियाँसम्म बचत गर्न सफल भएको बताउने अधिकारी आफ्नो कमाइबाट सन्तुष्ट हुनुहुन्छ ।

एक वर्षमा चारदेखि पाँच पटकसम्म कोकुन उत्पादन गर्न सकिने हुँदा आम्दानी पनि राम्रो लिन सकिने उहाँको भनाइ छ । रेशम खेती अन्य खेतीको तुलनामा महँगो पर्ने र रेशम कीराले उत्पादन गर्ने कोकुन प्रति केजी रु ५०० पर्ने उहाँले बताउनुभयो । रेशम खेती सेतो सुनका रुपमा पनि लिने गरिन्छ ।

तर पनि केही समस्या छन् । उहाँ भन्नुहुन्छ, “यहाँ सिँचाइको अभाव छ । त्यस्तै कीरापालन गर्ने घर पर्याप्त छैनन् ।” त्यस्तै यहाँ उत्पादन हुने कोकुनको यही प्रशोधन र कपडा बुन्ने तान भए कपडा नै तयारी गर्न सकिने उहाँको भनाइ छ । त्यस्तै रेशम खेती हेर्ने विज्ञ र प्राविधिक, नहुँदा पनि समस्या पर्ने गरेको छ । उहाँले प्रविधिको अभावले आफूले यहाँ उत्पादन गरेको कोकुनबाट धागो निकालेर धादिङमा लगेर कपडा बुन्ने गर्नुभएको छ ।

उत्पादित धागोमध्ये २० प्रतिशतबाट कपडा बनाएर बेच्ने गरेको र अरु सबै धागो अमेरिका, जापान, लगायतका देशमा नेपालका व्यापारीमार्फत बिक्री गर्ने गरेको उहाँको भनाइ छ । दुई वर्षअघि उहाँले दाङमा उत्पादन भएको धागोबाट बनाइएका साडी काठमाडौँको भृकुटी मण्डपमा लागेको प्रर्दशनीमा लगेर पनि बिक्री गरेको उहाँले बताउनुभयो ।

अहिले गढवा गाउँपालिका–४ हडैया गाउँमा मात्र ५० बिघा, गोबरडिहाको १० बिघामा सामूहिक र व्यक्तिगत रुपमा रेशमखेती गरिएको छ । त्यसैगरी सोही ठाउँका २९ वर्षीय रामलक्ष्मण शाहले पनि यसपटकदेखि आफ्नो दुई बिघा जमिनमा यसको खेती थाल्नुभएको छ । उहाँले अधिकारीबाट आफूले प्रेरणा पाएर खेती गरिरहेको बताउनुभयो ।

त्यसैगरी गढवा ४ गोबरडिहाका ३२ वर्षीय अन्जीत चौधरीले पनि दश बिघा जमिन भाडामा लिएर सो खेती गरिरहनुभएको छ । परम्परागत धान मकै, गहँुखेती भन्दा रेशमखेतीबाट मनग्य आम्दानी लिन सकिने भएकाले आफुहरु यस खेतीतर्फ आकर्षित भएको यहाँका किसानले बताएका छन् ।

रेशम खेती गरेका किसानलाई प्रोत्साहन गर्न यसअघि लुम्बिनी प्रदेश सरकारले कीरा घर निर्माणका लागि साढे ११ लाख रुपैयाँ अनुदान पनि दिएको थियो । सो रकमबाट दुईवटा कीरा घर निर्माण भइरहेको अन्जित चौधरीले बताउनुभयो । यस्तै, गढवा गाउँपालिकाले पनि यसपटक रेशम खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ भने लुम्बिी प्रदेशसरकारले रेशम खेती गर्ने किसानका लागि रकमसमेत विनियोजन गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया