प्रदर्शनकारी सुरक्षा घेरा तोडी प्रधानमन्त्रीको कार्यालयमा प्रवेश, सरकारी टेलिभिजन बन्द

  असार २९, २०७९

कोलम्बो, असार २९ : बुधबार नै प्रदर्शनकारीहरू प्रधानमन्त्री कार्यालयको गेटबाट बलपूर्वक प्रवेश गरी नाराबाजी गरेका छन् । उनीहरूले श्रीलङ्काको सङ्कट समाधान गर्न वर्तमान् सरकारले नसकेको भन्दै यसको विकल्प आफूहरूले खोजेको बताएका छन् ।

प्रधानमन्त्रीको कार्यालयमा सयौँको सङ्ख्यामा तैनाद शसस्त्र सुरक्षा फौजसँग लामो समय झडपपछि प्रदर्शनकारी प्रधानमन्त्रीको कार्यालयमा छिरेका एएफपीका श्रीलङ्कास्थित सम्वाददाताले पुष्टि गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयमा पुगेका प्रदर्शनकारीले श्रीलङ्काको सङ्कटको कारण राजापाक्ष परिवार र उनको प्रशासन रहेको भन्दै आफूहरूले आन्दोलन गरेको र राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय कब्जा गर्नु आफ्नो सफलता भएको बताएका छन् ।

यसैबीच, श्रीलङ्काको सरकारी टेलिभिजन च्यानल रूपवाहिनीले आफ्नो प्रसारण बन्द गरेको छ ।प्रदर्शनकारीहरूको भिड उक्त टेलिभिजनको कार्यालयमा छिरेपछि प्राविधिकहरूले प्रसारण बन्द गरेको अधिकारीहरूले बताएका छन् ।

राजापाक्ष मालदिभ्सबाट बुधबार नै सिङ्गापुर जाने

श्रीलङ्काको वायुसेनाको विमानमार्फत् माल्दिभ्स पुग्नुभएका पूर्व राष्ट्रपति गोटावाय राजापाक्ष बुधबार सिङ्गापुर जानुहुने उहाँ निकट स्रोतले जनाएको श्रीलङ्काको पत्रिका डेली मिररले जनाएको छ । उहाँ बुधबार विहान राष्ट्रपतिको हैसियतमा रक्षा मन्त्रालयको स्वीकृतिमा श्रीलङ्काबाट माल्दिभ्सतर्फ जानुभएको थियो ।

जुलाई ९ मा प्रदर्शनकारीको भीडले राजापाक्षको निवासमा आक्रमण गरेपछि देशमा नै लुकेर बसिरहेका उहाँले १३ जुलाईमा राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

श्रीलङ्काले इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभावको सामना गरिरहेको छ र मुद्रास्फीति बढ्दै गएकोले स्वतन्त्रता पछि अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको चपेटामा परेको छ ।

तपाईको प्रतिक्रिया