आरोही जिरेलद्वारा एकीकृत समाजवादीको झण्डा लेनिन पिकमा फहराउने

  असार १९, २०७९

काठमाडौँ, असार १९ : सर्वोच्च शिखर सगरमाथासहित विभिन्न २६ हिमालको सफल आरोहण गरिसक्नुभएका आरोही लालबहादुर जिरेलले नेकपा (एकीकृत समाजवादी) को चुनाव चिह्न कलम अङ्कित झण्डा किर्गिस्तानको लेनिन पिकमा फहराउनुहुने भएको छ ।

दोलखा स्थायी घर भएका जिरेलले झण्डा फहराउने इच्छा गर्नुभएको हो । यसअघि पनि उक्त लेनिन पिक आरोहण गरिसक्नुभएका उहाँले केही दिनमा पुनः चढ्न किर्गिस्तान जान लाग्नुभएको छ । पार्टीको बागमती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य रहनुभएका उहाँ प्रसिद्ध हिमाल आरोही हुनुहुन्छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जिरी नगरपालिका–४ मा वडाध्यक्षको उम्मेदवार भएका जिरेलले सर्वोच्च शिखर सगरमाथा दुई पटक आरोहण गरिसक्नुभएको छ ।

उहाँले मनास्लु हिमाल एक पटक, अमादब्लम तीन पटक, पुमरी एक पटक, मेरा पिक पाँच पटक, सिंगा चुली एक पटक, टेनपिक दुई पटक, दम्पोस पिक एक पटक, लार्के पिक एक पटक, अम्विगेप्चेन एक पटक, आइसल्याण्डपिक १२० पटक, लवुजेपिक ३० पटक, सोलु पिक एक पटक, लाङसिसरी एक पटक, नयाँकाङ तीन पटक, एलापिक तीन पटक, रमुदङ एक पटक र खाम्सेकु एक पटक आरोहण गरिसक्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले जिरेललाई आरोहणको सफलताको शुभकामनासहित झण्डा हस्तान्तरण गर्नुभयो । अध्यक्ष नेपालले मुलुकको पहिचान गराउन जिरेलले गरेको प्रयासको सराहना गर्नुभयो ।

झण्डा हस्तान्तरण कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य श्रीप्रसाद साह, प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष टेक गुरुङ, दोलखा जिल्ला कमिटी अध्यक्ष भीम दाहाल, युवा सङ्घका उपमहासचिव अशोककुमार दाहाल, युवा सङ्घका सचिवालय सदस्य टिकाराम खड्का, युवा सङ्घका केन्द्रीय सदस्य रामबहादुर खड्कालगायत सहभागिता थियो ।

तपाईको प्रतिक्रिया