बोलिभियाकी पूर्व राष्ट्रपति अनेजलाई १० बर्ष जेल सजायको फैसला

  जेठ २८, २०७९

लापाज, जेठ २८ : बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ । उहाँलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने फैसला गरेको हो ।अहिले ५४ वर्ष हुनुभएकी अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो ।

उहाँले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आउनु भएको छ । आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उहाँको भनाई छ । पूर्व राष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरेपनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले उहाँले महिला कारागारमा तोकिएको समय बिताउनु पर्ने भएको छ । उहाँलाई लापाज स्थित कारागारमा राखिने अधिकारीहरूले जनाएका छन् ।

उहाँले संविधानले दिएको आफ्नो जिम्मेबारी र अधिकारभन्दा बाहिर गएर अपराध गरेको देखिएकाले उहाँलाई सजायको फैसला गरिएको अदालतको भनाई छ । उहाँका विपक्षीहरूले भने उहाँलाई कम्तीमा १५ वर्ष जेल सजाय हुनुपर्ने माग अदालतसँग गरेका थिए । उहाँलाई राष्ट्रपति हुनुअघि सिनेटर भएको बेला देखि कै विभिन्न आरोपहरू लगाइएको छ ।

दक्षिणपन्थी नेतृ अनेज सन् २०१९ को नोभेम्बरदेखि ठिक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बन्नु भएको थियो । त्यसअघि उहाँ बोलिभियाको सिनेटको उपाध्यक्ष हुनुभएको थियो । उहाँले तत्कालीन राष्ट्रपति इभो मोरालेजले राजीनामा दिएपछि आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गराउनु भएको थियो ।

मोरालेजले गराएको निर्वाचनमा धाँधली भएको भन्दै देशभरी चर्को विरोध भएपछि उहाँले राजीनामा दिन वाध्य हुनु परेको थियो । राजीनामापछि आफूलाई असुरक्षा महसुस भएको भन्दै उहाँले मेक्सिकोमा शरण लिनु भएको थियो । उहाँले देश छाडेकाले पनि अन्तरिम राष्ट्रपतिको जिम्मेबारी सम्हाल्न अनेजलाई सजिलो भएको थियो । अनेज राजनीतिमा आउनु भन्दा अगाडि अधिवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोता समेत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया