म्याग्दी, जेठ २५ : म्याग्दीको बेनी नगरपालिकाले ‘विपद्मा प्रमुख र आमा समूहसँग उपप्रमुख’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यपालिकाको पहिलो बैठकले विपद् व्यवस्थापन, राहत र पुनःनिर्माणमा राज्यका अतिरिक्त समुदाय, निजी क्षेत्र र प्रवासीहरुको सहभागितामा विपद्मा मेयर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । निर्णय सार्वजनिक गर्दै मङ्गलबार नगरप्रमुख सुरत केसीले विपद्जन्य घटनाहरुबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापन, उद्धार तथा प्रतिकार्यका लागि विपद्मा मेयर कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
बर्खामा विपद्को प्रतिकार्यका लागि तयारीसँगै विपद् व्यवस्थापनमा परिचालन हुने डोजर, टिपर र ट्र्याक्टर प्रतिस्पर्धामार्फत भाडामा लिने नगरप्रमुख केसीले जानकारी दिनुभयो ।उपप्रमुख ज्योति लामिछाने पौडेलले टोलटोलमा बनेका आमा समूहका भवनमा सीपमूलक तालिम सञ्चालन गरेर महिलाहरुलाई उत्पादनसँग जोड्ने उद्देश्यले आमा समूहसँग उपप्रमुख कार्यक्रम अघि सारिएको बताउनुभयो ।
कार्यपालिका अन्तर्गतका समितिको नेतृत्व र सदस्य चयनका साथै आगामी बैठकमा नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन तथा रूख कटान छनोटसम्बन्धी कार्यविधि बनाउने र मजदुर डेक्स तथा मजदुर सहायता कोष स्थापना गर्ने निर्णय भएको कार्यपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठले बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न शिक्षा अधिकृत कमलप्रसाद ढकालको संयोजकत्वमा सोमनाथ ढुङ्गाना, सम्मरबहादुर थापा, जयराम सुवेदी र पेसागत सङ्गठनका तीनजना प्रतिनिधि रहेको कार्यदल बनाएको छ ।
कार्यपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले पाउनुभएको छ । नगरपालिकाको हितका लागि सहमतिमा विषयगत समिति गठन गरिएको नगरप्रमुख केसीले बताउनुभयो । नगरप्रमुख केसीले पदभार ग्रहणका क्रममा गर्नुभएको विपन्नको स्वस्थ्य बीमा गर्ने, नसर्ने रोगका बिरामी पहिचान गर्न शिविर सञ्चालन गर्नेसम्बन्धी निर्णय बैठकले अनुमोदन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले कार्यपालिकाको निर्णयलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटिने बताउनुभयो ।






