संघ र प्रदेशको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्‍छ : उपसभापति खड्का

  जेठ २२, २०७९

ललितपुर, जेठ २२ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्नेबाछ कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

आइतबार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि एवम् निर्वाचन परिचालनमा सहयोगीहरुको सम्मान गर्न जिल्ला कार्य समिति ललितपुरद्वारा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । ‘संघ, प्रदेशको चुनावमा कांग्रेस पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन तर कांग्रेसलाई हराउन अरु पार्टी चाहिँदैन’ उहाँले भन्नुभयो, “निर्वाचनको धेरै कार्य अनुभवबाट, कांग्रेसले कांग्रेसलाई मात्रै भोट हालेको भए थप ६५ पालिका जित्दोरहेछ।”

स्थानीय तह निर्वाचनमा टिकट वितरणको कमजोरीले पनि ३० देखि ३५ पालिकामा केही बिग्रिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको चाहना, ईच्छाले गठबन्धन नबनेको भन्नुहुदै उहाँले थप्नुभयो, “वर्षौंको मिहेनतले यो गठबन्धन बनेको होइन । सर्वसम्मतिले गठबन्धनमा जाने निर्णय गरिए पनि यसको नकारात्मक असरले धेरै ठाउँमा प्रभाव पारेको छ ।”

विगतमा झण्डै दुईतिहाई बहुमतको नेकपाको सरकार पार्टीको आन्तरिक द्वन्द्व र केपी शर्मा ओली अधिनायकवादतर्फ अग्रसर भएका कारणले इतिहासले कांग्रेसलाई जिम्मेवारी सुम्पिएको उहाँले बताउनुभयो । जननिर्वाचित प्रतिनिधिलाई उहाँले जनता र मतदाताको मुहार हसिलो हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।

निर्वाचित जनप्रतिनिधि र पराजित हुनुभएका नेताहरुले निभाउनुपर्ने भूमिका र आचारसंहिताबारे पार्टीको केन्द्रीय तहमा छलफल र निर्णय गरिने बताउनुभयो । यससँगै अघिल्ला निर्वाचनमा अनुगमनको कुरा बिर्सिएकाले निर्वाचित जनप्रतिनिधिले पाउनुपर्ने सहयोग र सुझाव पाउन नसक्दा थोरै घाटा भएको प्रष्ट पार्नुभयो । पार्टीबाट जिम्मेवारीमा पुगेकाहरुको संस्थागत अनुगमनबारे प्रबन्ध गरिने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया