मिर्गौला पीडितलाई सहयोग जुटाउँदै प्रवासी

  जेठ २१, २०७९

दमौली, जेठ २१ : विभिन्न सिलसिलामा विदेश पुगेका तनहुँवासी युवा, सङ्घसंस्था जिल्लाका मिर्गौला, मुटुलगायतबाट पीडित भएकाको उपचारमा सहयोग जुटाउन सक्रिय बनेका छन् । आर्थिक रुपमा विपन्न पीडितको उपचारमा सहयोग पुयाउन विभिन्न देशमा रहेका युवा एवं सामाजिक सङ्घसंस्था सहयोग जुटाउन सक्रिय बनेका हुन् ।

तनहुँको व्यास नगरपालिका–७ नरङ्गा निवासी मिर्गौला पीडित ४० वर्षीय सोमबहादुर विकको उपचारका लागि प्रवासीले सहयोग जुटाएका छन् । वैदेशिक रोजगारीका क्रममा दुवई पुग्नुभएका विकको सात महिनाअगाडी दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचारमा सहयोग जुटाउन प्रवासीले रु पाँच लाख पठाएका हुन् ।

सयपत्री नेपाली सेवा समाज युके, विश्वकर्मा वेयलफेयर सोसाइटी युके, तीन दोभान तनहुँ समाज युके, वेलायती सेनामा कार्यरत इन्टेक ०३ मा कार्यरत प्रहरीले पठाएको उक्त रकम मिर्गौला पीडित विकलाई हस्तान्तरण गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले उक्त रकम हस्तान्तरण गर्दै विदेशमा बसेर पनि ठूलो रकम जुटाउनु सामान्य नभएको उल्लेख गर्नुभयो ।

दुवई पुगेको केही महिनामै दुवै मिर्गौलाले काम गर्न छाडेपछि विकले आफ्ना साथी किसान परियारलाई यसबारेमा जानकारी गराउनुभएको थियो । बेलायतमा प्रहरीमा कार्यरत सहपाठी किसानले सोमबहादुरको कुरा सुनेपछि रकम सङ्कलन अभियान सुरु गर्नुभएको थियो ।

किसानले बेलायतमा सङ्कलित उक्त रकम दाजु अमृतमार्फत् पठाउनुभएको थियो । “मेरा लागि साथीले ठूलो गुन लगाउनुभयो, योभन्दा ठूलो पुण्यको काम के नै हुन सक्ला र ?” सोमबहादुर भन्नुभयो । मिर्गाैला पीडित विकले आफूलाई सहगोग गरी जीवन रक्षा गरिदिन सबैमा आग्रह गर्नुभएको छ । उहाँले सोमबहादुर विकको नाममा कुमारी बैङ्क दमौली शाखामा रहेको खाता नम्बर ०१४०१०७१९१२००००१ मा रकम जम्मा गरिदिई जीवनरक्षाको अपिल गर्नुभएको छ ।

तनहुँ घर भई हाल हङकङमा रहेकाको संस्था तनहुँ समाज हङकङ र मूलाबारीका युवाको सक्रियतामा म्याग्दे गाउँपालिका–५ मूलाबारी निवासी दुवै मिर्गौला पीडित ४४ वर्षीया नरमाया थापालाई रु आठ लाख दश हजार तीन सय ९२ सहयोग गरिएको छ । स्थानीय युवा गङ्गाबहादुर थापाको पहलमा दुई चरणमा गरी सङ्कलन भएको रु छ लाख नौ सय ६२ थापालाई हस्तान्तरण गरिएको छ । थापाको पहलमा पहिलो चरणमा रु तीन लाख ५३ हजार चार सय २५ र दोस्रो चरणमा रु दुई लाख ४७ हजार पाँच सय ३७ गरी रु छ लाख नौ सय ६२ सहयोग गरिएको हो ।

यस्तै विभिन्न सिलसिलामा हङकङ पुगेका ४१ जना नेपालीहरुबाट सहयोग भएको रु दुई लाख नौ हजार चार सय ३० पनि पीडितलाई हस्तान्तरण गरिएको छ । नरमायाका श्रीमान हिमबहादुर थापाबाट पत्नी बिरामी भएको खबर पाएपछि विसं २०७८ चैतदेखि नरमाया बचाउन अभियान सञ्चालन गरिएको थापाले जानकारी दिनुभयो ।

यस अभियानमा भुरुङ्गे मगर समाज लगायत ८२ स्थानीयले सहयोग गरेका छन् । तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष भीमराज गुरुङले हङकङ निवासी तनहुँका व्यक्तिले आफ्नो ठाउँमा विपद् परेका बेला विगतदेखि नै सहयोग गर्दै आएको बताउनुभयो ।

विगत एक वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थापाको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । केही दिनमै उहाँको प्लामा थेरापी विधिमार्फत् दुवै मिर्गौला प्रत्यारोपणको तयारी गरिएको उहाँका पति हिमबहादुरले बताउनुभयो ।

तनहुँमा विगतदेखि नै समाजिक सेवा गर्दै आएको समाजले नेपाली दुःख पीडामा परेको खबर प्राप्त हुनासाथ हङकङमा विभिन्न सिलसिलामा पुगेका नेपालीसँग समन्वय गरी आफ्नो कमाइबाटै सहयोग रकम पठाउदै आएको तनहुँ समाज हङकङका कार्यक्रम संयोजक प्रदीप काफ्लेले जानकारी दिनुभयो ।

माजले भूकम्पपछिको पूनःनिर्माण, बाढी पहिरोजस्ता दैवी प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार विकास तथा प्रबद्र्धनमा योगदान पुर्‍ययाउँदै आएको छ ।

पुर्कोट सेवा समाज दोहा कतारले पनि जिल्लाका विपन्न वर्गलाई सहयोग गर्दै आइरहेको छ । समाजले भानु नगरका तीन मुटु एवं मिर्गौला पीडितलाई जनही रु २० हजार सहयोग गरेको छ । भानु–८ देउरालीटारका सुरेश श्रेष्ठ, सोही वडा मगरगाउँकी अन्जु थापा मगर र भानु–९ खहरेकी इशा श्रेष्ठलाई जनही रु २० हजारका दरले आर्थिक सहयोग गरेको संस्थाका सल्लाहकार रेशम तामाङले जानकारी दिनुभयो । सुरेश मुटुरोगी हुनुहुन्छ भने अन्जु र इशा मिर्गौला पीडित हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया