बागलुङकी ६५ वर्षीया वृद्धालाई कोरोना संक्रमण

  चैत २०, २०७६

काठमाडौं, चैत २० : नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे । निज संक्रमित व्यक्ति पनि यसअघि दोहाबाट कतार एयरकाे चैत्र ४ गतेकाे क्यू आर ६५२ आएको उडानबाटै आएको बताइएको छ ।

उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् ।

प्रवक्ता देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिए । पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् । दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो । तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया