स्वास्थ्य सेवा विभागद्वारा विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द

  चैत १९, २०७६

काठमाडौँ, चैत १९ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि ओम्नी समूहसँग अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन गरेको सम्झौता रद्ध गरेको छ ।

बुधबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नीले तोकिएको समयमा आवश्यक सामाग्री दिन नसेको र दिएका सामाग्रीहरु पनि कमसल रहेको भन्दै सम्झौता रद्द गरिएको बताए ।

‘हामीले प्रचलित बजार भाउभन्दा २० प्रतिशत महंगो भएपनि सामान आउँछ भने ठिक छ भनेर सम्झौता गरेका थियौं। तर १० प्रतिशत मात्रै सामान आयो। बाँकी सामान आउने कुनै छाँटकाँट छैन,’ उनले भने, ‘त्यसैले हामीले ओम्नीसँग गरेको सम्झौता रद्द गरेका छौं। उसले राखेको ५ करोडको धरौटी जफत गर्ने र कालो सूचिमा राख्ने प्रक्रिया अगाडि बढाएका छौं ।’

श्रेष्ठकाअनुसार पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ । १ लाख सेट पीपीई पहिलो लटमा ल्याउने सम्झोता थियो । तर १० हजार थान मात्र आयो । एन ९५ मास्क, ग्लोब्स र सर्जिकल मास्क पनि सम्झौता अनुसार दिन सकेन । पहिलो लटमा १० हजा एन९५ मास्क र र १ लाख जोडा ग्लोब्स मात्र आएको छ ।

तर तेस्रो लटमा ल्याउनुपर्ने ७५ हजार थान र्‍यापिड टेष्ट किटमध्ये ५० हजारथान पहिलो लटमा आइपुगेको छ । र, यो किट प्रयोगका लागि पनि अयोग्य भएको पाइएको छ ।

यस्तै, भोलि २ अप्रिलमा दोस्रो खेप सामान आइसक्नुपर्ने हो । तर, त्यसको सम्भावना देखिँदैन । यो कहिले ल्याउने भनेर प्रस्ताव पनि नगरेकाले सम्झौता रद्द गर्ने र ओम्नी समूहलाई कालोसूचीमा राख्न आग्रह गर्ने निर्णय भएको श्रेष्ठले बताए ।

विभागले अब नयाँ खरिद प्रक्रिया सुरु गर्नेछ । तीन दिन मात्र समय दिएर भोलि प्रस्ताव आह्वान गर्ने निर्णय भएको विभागका महानिर्देशक श्रेष्ठले बताएका छन् । उनले बिहीबार नै अन्य कम्पनीहरुलाई बोलाइएको र सामान किन्नका लागि पुन: प्रक्रिया अगाडि बढाइने बताए । उनले सस्तोमा सामान ल्याउन निवेदन दिन पनि सप्लायर्सहरुलाई आह्वान गरेका छन् ।

तपाईको प्रतिक्रिया