रूसी आक्रमणमा परी यूक्रेनमा थप आठको मृत्यु

  जेठ ०३, २०७९

कीभ, जेठ ३ : रूसको हवाई आक्रमणमा परी यूक्रेनमा मङ्गलबार थप आठ जनाको मृत्यु भएको छ । यूक्रेनका सैनिकहरुको आधार क्षेत्र रहेको ग्रामिण क्षेत्रमा लक्षित गरी भएको आक्रमणमा परी उनीहरूको मृत्यु भएको जनाइएको छ । डेसना भन्ने गाउँमा भएको आक्रमणमा परी अरु १२ जना घाइते पनि भएको समाचारमा जनाइएको छ ।

अहिले आक्रमण भएको ठाउँमा अपवाद मात्रै आक्रमण हुने गरेको थियो । राजधानी किभदेखि ७० किलोमिटर टाढा पर्ने ठाउँमा आक्रमण भएको हो । त्यहाँ ठूलो सैन्य तालिम केन्द्र रहेको थियो । यसअघि युक्रेनको बन्दरगाह शहर मारिऊपोलमा अवस्थित एउटा स्टीलकारखानामा रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार गरिएको थियो ।

यूक्रेनी उपरक्षामन्त्रीले रुससँग बन्धक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई स्वदेश फर्काइने बताउनुभएको थियो । उद्धार गरिएका २६४ युक्रेनी सैनिकमध्ये ५३ जना गम्भीर घाइते रहेका अधिकारीले बताएका छन् । गम्भीर घाइते रहेका ती सैनिकलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।

मारिऊपोलस्थित एजोभस्टाल स्टील कारखानामा ८० दिनभन्दा बढी समयदेखि ती सैनिक रुसी फौजको घेराबन्दीमा परेका थिए । ती सैनिकको उद्धारकार्यमा संयुक्त राष्ट्रसंघ र रेडक्रम संलग्न रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बताउनुभएको छ । उक्त बन्दरगाह शहरमाथि कब्जा गर्ने अभियानमा करिब २० हजार रूसी सैनिक संलग्न रहेका युक्रेनी सेनाले दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया