मकवानपुर जेठ २ : हेटौँडा उपमहानगरपालिका–११ स्थित राप्ती नदी तटमा नवनिर्मित बुद्ध भगवान्को पूर्णकदको मूर्ति तथा बुद्ध पार्कको आज बुद्ध जयन्तीको उपलक्ष्यमा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उद्घाटन गर्नुभएको छ ।
हेटौँडा उपमहानगरपालिका–११ बस्ने समाजसेवी लाल श्रेष्ठले आफ्नो निजी खर्चमा उक्त बुद्धको पूर्णकदको मूर्ति निर्माण गर्नुभएको हो । हेटौँडा उपमहानगरपालिकाले रु १८ लाखको लागतमा सोही स्थानमा बुद्ध पार्क निर्माण हालै निर्माण गरेको हो ।
सो अवसरमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले राजनीतिक दलहरूका नेताहरूले बुद्धका दिव्य उपदेशलाई आत्मसात् गर्नपर्ने आजको आवश्यकतालाई मनन नगरे भविष्यमा धार्मिक हिंसा हुनसक्ने चिन्ता व्यक्त गर्नुभयो ।
यसैबीच हेटौँडा उपमहानगरपालिकाको वडा नं ४, ५, ६, ९, १० र १२मा रहेको बुद्ध विहारमा बुद्ध धर्मका भक्तजनहरूले आव बिहानदेखि नै पूजा अर्चना गरी छुट्टाछुट्टै झाँकीसहित शोभायात्रा गरेका छन् ।