काठमाडौँ, वैशाख २३ : सत्तारूढ गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाका उम्मेदवारले भौतिक विकास र सहरी सौन्दर्यको अभिवृद्धि तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने कामलाई विशेष प्राथमकितामा राखेको बताएका छन् । गठबन्धनको तर्फबाट यहाँ आयोजित संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवारले महानगरलाई ‘महान घर’ बनाउने दृढता व्यक्त गर्नुभयो । सङ्घीय राजधानीसमेत रहेको महानगरभित्र रहेको फोहर, धुवाँ धुलो तथा खाल्डाखुल्डीको समस्या रहेकाले त्यसको दीगो र दीर्घकालीन समाधानका लागि पहल गर्ने र पाँच वर्षभित्र महानगरलाई ‘महान घर’ जस्तै बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कान्तिपुरी नगरीका रूपमा परिचित काठमाडौँलाई सम्पदा, संस्कति, जात्रा, पर्व, गुठीमा विशेष ध्यान दिने उल्लेख गर्दै गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई विश्वको प्रमुख पर्यटकीयस्थलका रूपमा स्थापित गरेरै छाड्ने उल्लेख गर्नुभयो ।
उहाँले महानगरलाई २४सै घण्टा खुला रहने स्थानका रूपमा विकास गर्दै व्यापारिक ‘हव’ बनाउने र त्यसका लागि सम्बद्ध निकायसँग समन्वय गरेर काम गर्ने र त्यसमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । महानगरलाई सुशासन र प्रविधिमैत्री प्रविधिका रूपमा विकास गरेर सेवाग्राहीलाई प्रभावकारी सेवा सुविधा तथा घरबाटै सेवा दिने प्रणालीको विकास गरिने उहाँको भनाइ थियो । उहाँले महिलालाई सीपमूलक तालिम दिने, विपन्न परिवारलाई विशेष भत्ता तथा, विदुर पुरुषलाई पनि विशेष भत्ताको व्यवस्था गर्ने तथा महिलाले उत्पादन गरेका सामानलाई कोसेली घर बनाएर बिक्री वितरण गर्ने व्यवस्था मिलाइने बताउनुभयो ।
उहाँले महानगरभित्रको ट्राफिक जामलाई हटाउन आफूहरुको गठबन्धनले विशेष भूमिका निर्वाह गर्ने र त्यसका लागि सम्बद्ध निकायसँग मिलेर काम गरेरै छाड्ने बताउनुभयो । उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले काठमाडौँ महानगरलाई महानगर जस्तो बनाउने आफूहरुको प्रतिबद्धतालाई मतदाताले स्वीकार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले काठमाडौँ उपत्यकाभित्रको फोहरमैलाको व्यवस्थापन गरेर मोहर बनाउने कामलाई प्राथमिकता दिने बताउनुभयो । महानगर असुरक्षित रहेकाले त्यसलाई सुरक्षित बनाउने, सबै स्थानमा बिजुली बत्ती जडान गर्ने, सिसीटीभी जडान गर्ने र ज्येष्ठ नागरिकको हितका लागि काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।






