कोपेनहेगन, बैशाख २० : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार डेनमार्कका समकक्षीसँग भेटवार्ता गर्नु भएको छ । युरोप भ्रमणमा रहनु भएका प्रधानमन्त्री मोदीले डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडेरिक्सेनसँग कोपनहेगनमा भेटवार्ता गर्नु भएको हो । एक दिने डेनमार्क भ्रमणका क्रममा उहाँले अति व्यस्त कार्यतालिकाका बीच अन्य महत्वपूर्ण भेटघाट तथा छलफलहरू गर्नु भएको छ ।
प्रधानमन्त्री मोदीले भेटघाटका क्रममा सबैसँग दुई देशको सम्बन्ध, सहकार्यलाई बढाउदै लैजाने र नयाँ संभावनाहरुका बारेमा छलफल गर्नु भएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी क्षेत्रिय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा पनि उहाँले डेनमार्कमा छलफल गर्नु भएको छ ।
सोमबारदेखि तीन दिने युरोप भ्रमण सुरु गर्नु भएका मोदी भ्रमणको दोस्रो दिन डेनमार्क पुग्नु भएको हो । उहाँले भ्रमणको पहिलो दिन नै सोमबार जर्मनीका चान्सलर अलाफ स्कोल्जसँग बर्लिनमा भेटवार्ता गर्नु भएको थियो ।
उहाँहरूका बीचमा भारत-जर्मनी सहकार्यका बारेमा विषेश कुराकानी भएको अधिकारीहरूले जानकारी दिएका छन् । उहाँहरूका बीचमा रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नु पर्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल गर्नु भएको बताइएको छ ।
भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिनुभएको जानकारी अनुसार प्रधानमन्त्री मोदीले यस पटक युरोप भ्रमणका क्रममा उहाँले युक्रेनमाथि रुसको हमलाका बारेमा पनि विषेश छलफल गर्नुहुनेछ । सोमबार जर्मनीबाट युरोप प्रवेश गर्नु भएका प्रधानमन्त्री मोदीले मङ्गलबार डेनमार्कको भ्रमण गर्नु भएको छ भने बुधबार फ्रान्सको भ्रमण गर्नुहुने भएको छ ।






