राष्ट्रको हितका लागि गठबन्धन गरिएको हो : प्रवक्ता महरा

  बैशाख १७, २०७९

दाङ, वैशाख १७ : नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रियता, सङ्घीयता, लोकतन्त्र, संविधानमाथि खतरा हुन थालेपछि पाँच दलीय गठबन्धन गर्नु परेको बताउनुभएको छ ।

पाँच दलीय गठबन्धनले आज तुलसीपुरमा आयोजना गरेको प्रशिक्षण तथा उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्र, संविधान, राष्ट्रियताका लागि गठबन्धनको आवश्यकता परेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “व्यक्तिको भन्दा पनि राष्ट्रको हितका लागि गठबन्धन हो ।”

प्रशिक्षण कार्यक्रममा उपस्थित कार्यकतालाई प्रवक्ता महराले ढुक्क भएर पाँच दलीय गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले मुलुकमा तानाशाही प्रवृत्ति रहेको भन्दै यसको अन्त्यका लागि नै यो गठबन्धन भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार गेहेन्द्र गिरी, उपप्रमुखका उम्मेदवार जोगबहादुर राणा, एकीकृत समाजवादीका केन्द्रीय सदस्य हिराचन्द्र केसी, जनमोर्चाका नेता भर भण्डारीलगायतले मन्तव्य व्यक्त गर्दै यो गठबन्धन रहेको नभई संविधानको रक्षाका लागि भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया