रकाठमाडौँ, ७ मङ्सिर : सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई क्युंगले शिष्टाचार भेट गर्नुभएको छ ।
सङ्घीय संसद् सचिवालयमा आज भएको भेटमा सभामुख अर्यालले राजदूत पार्कलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले नेपाल र कोरियाबिच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सुमधुर सम्बन्ध रही आएको उल्लेख गर्दै कोरिया नेपालको महत्वपूर्ण विकास साझेदार रहेको बताउनुभयो ।
पूर्वाधार, ऊर्जा, सूचना प्रविधि, डिजिटलाइजेसन, व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिँदै सभामुख अर्यालले नेपाल वायुसेवा निगमको नेपाल–कोरिया उडान सञ्चालनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न राजदूत समक्ष आग्रह गर्नुभयो ।
नेपालका बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कोरियाली सरकारले उपलब्ध गराएको आर्थिक तथा जिन्सी सहयोग तथा कोरियाली विपद् प्रतिकार्य टोली परिचालन गरेकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
रसुवा बाढीलगायत विपद्का क्रममा सम्पर्कविहीन कोरियाली नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्नुभयो । उहाँले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत शिक्षा, स्वास्थ्य, कृषि तथा मानव संशाधन विकासमा प्राप्त सहयोगको प्रशंसा गर्दै जलविद्युत् र उत्पादनमूलक क्षेत्रमा कोरियाली लगानी विस्तारको सम्भावना औँल्याउनुभयो ।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली युवालाई रोजगारीका अवसर उपलब्ध गराएकोमा धन्यवाद दिँदै दुई देशबिच पर्यटन तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ गर्नुपर्ने बताउनुभयो ।
त्यस अवसरमा राजदूत पार्कले बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा कोरिया निरन्तर सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपाल–कोरिया सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो कार्यकालमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको राससमा उल्लेख छ ।






