पश्चिमी वायुको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  कार्तिक ३०, २०८३

काठमाडौँ, २९ कात्तिक : पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षा, हिमपात र चट्याङको सम्भावना रहेको छ । हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ । अन्य पहाडी तथा तराई क्षेत्रमा भने आंशिक बादल रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशलगायत पहाडी क्षेत्रमा आंशिक बादल रहनेछ । तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्नेछ ।

रातिको समयमा हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ ।

सम्भावित वर्षा, हिमपात, चट्याङ र असिनाको जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन तथा मौसमसम्बन्धी पछिल्लो सूचना नियमित रूपमा लिन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया