काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, काठमान्डुमाथि सात रनको जित

  कार्तिक २८, २०८३

काठमाडौँ, २७ कात्तिक : सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा काठमान्डु गोर्खाजलाई सात रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गरेको हो ।

सुदूरपश्चिम जारी प्रतियोगितामा प्लेअफ पुग्ने दोस्रो टोली बनेको छ । यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ ।

सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमान्डुले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो ।

काठमान्डुका लागि राशिद खानले अविजित ३५, दुशान हेमन्तले २१, साम हिजलेटले ११ र सन्तोष यादवले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिए भने स्कट कुगलेइन, फाबियन एलेन र हेमन्त धामीले एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रन बनाए । उनले ५५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । जारी एनपिएलमा ऐरीको यो पहिलो अर्धशतक हो । त्यस्तै थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रनको योगदान दिए ।

काठमान्डुका जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए । एनपिएलअन्तर्गत आजै हुने अर्को खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ ।

प्लेअफमा स्थान सुरक्षित गरिसकेको सुदूरपश्चिमको बाँकी खेलको नतिजाले भने अङ्कतालिकामा उसको स्थान निर्धारण गर्नेछ ।

तपाईको प्रतिक्रिया