तीर्थाटनका लागि रवि लामिछाने भारत प्रस्थान

  ११ घण्टा अगाडि

महेन्द्रनगर, ६ कात्तिक : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित तीर्थाटनका लागि आज कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत प्रस्थान गर्नुभएको छ ।

तीन दिने भ्रमणका क्रममा उहाँले भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिकस्थल कैँचीधाम र गुवाहाटीस्थित कामाख्या मन्दिरमा दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको रास्वपा सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपकराज बोहराले जानकारी दिनुभयो । भ्रमण टोलीमा बोहरा पनि सहभागी हुनुहुन्छ ।

धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले भ्रमण पूर्णतः व्यक्तिगत र धार्मिक उद्देश्यको रहेको बताउनुभयो । “पहिलेदेखि नै जाउँला भन्ने थियो । यो धार्मिक भ्रमण हो । कुनै राजनीतिक भेटघाट छैन,” उहाँले भन्नुभयो ।

कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारत जान लागेको उल्लेख गर्दै उहाँले आफ्नो भ्रमणलाई राजनीतिक रूपमा नबुझ्न आग्रह गर्नुभयो । भ्रमण टोलीलाई गड्डाचौकीस्थित नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले सुरक्षा दिएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया