सुनसरी, ३ कात्तिक : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ ।
बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले बलि चढाएर दुर्गा भवानीको विशेष पूजाआराधना गरिने भएकाले बिहानैदेखि भक्तजनको भीड लागेको हो ।
मन्दिरका पुजारी डम्बर आलेमगरका अनुसार यहाँ मनोकामना पूरा होस् भन्ने कामनासहित पूजा गर्ने र भाकल पूरा भएपछि कुखुराको भाले चढाउने परम्परा छ । भक्तजनले सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने विश्वासका साथ पूजाआराधना गरिरहेका छन् ।
यहाँ पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम र दार्जिलिङ तथा भुटानबाट समेत दर्शनार्थी आउने गरेका छन् ।
तरहराकी निर्मला बस्नेतले दसैँका अवसरमा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै बुढासुब्बा मन्दिरमा पूजा गर्न आएको बताउनुभयो । मनोकामना पूरा हुने विश्वासका साथ आफू हरेक वर्ष भाकलअनुसार भाले चढाउन आउने गरेको उहाँले जानकारी दिनुभयो ।
बुढासुब्बा मन्दिरमा करिब ३० वर्षदेखि व्यापार गर्दै आउनुभएका एमडी जम्मेलले बडादसैँ सुरु भएसँगै पूजाआराधना गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने गरेको बताउनुभयो । महानवमीका दिन बिहानैदेखि भक्तजनको चहलपहल बढेकाले व्यापार पनि बढेकामा उहाँ दङ्ग हुनुहुन्छ । उहाँले मन्दिर परिसरमा पूजाका सामग्रीसँगै बालबालिकाका लागि विभिन्न किसिमका खेलौना पनि बिक्री गर्दै आउनुभएको छ ।
एक दशकअघिसम्म बुढासुब्बा मन्दिर परिसरका बाँसमा नाम लेख्दा प्रेम अमर हुन्छ भन्ने विश्वासका साथ नाम लेख्ने चलन थियो । समयक्रममा बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तारजाली लगाएको छ । त्यसपछि बाँसमा नाम लेख्ने चलन घट्दै गएको र बाँसमा माला बाँध्ने क्रम बढेको छ ।
बुढासुब्बा मन्दिरमा भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल चढाएर पूजाआराधना गर्ने गर्छन् । भाकल पूरा गर्न भाले चढाउने र नजिकै रहेको गौरिनी मातालाई पोथी कुखुरा चढाउने परम्परा पनि छ । पोथी उपलब्ध नभए अण्डा चढाइन्छ ।
विजयपुरमा नै प्रसिद्ध शक्तिपीठ दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर र पञ्चकन्यालगायत मन्दिर छन् । बडादसैँका अवसरमा दन्तकालीमा भक्तजनको बढी चहलपहल हुन्छ । फर्किने गरेको राससले जनाएको छ ।






