इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

  ५ घण्टा अगाडि

इस्तानबुल, २३ असोज : टर्कीको इस्तानबुलमा भवनको तल्लो भाग भासिएर माथिल्ला तला भग्नावशेषमा परिणत हुँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ । सहरको एसियाली क्षेत्रमा बिहीबार बिहान भवन भत्किएको हो । 

गभर्नरको कार्यालयका अनुसार भग्नावशेषमा पुरिएकाको खोजी तथा उद्धार कार्य शुक्रबार बिहान ६ः१५ बजे अन्तिम पीडितको शव फेला परेपछि सम्पन्न भएको छ । मृत्यु हुनेमा पाँच र १० वर्षका दुई बालिका, १२ वर्षका एक बालक तथा अन्य दुई जना रहेका छन् । भवनको तल्लो तीन तला भासिएपछि माथिल्ला चार तला पनि भग्नावशेषमा परिणत भएका थिए ।

इस्तानबुलका उपमेयर नुरी अस्लानले भवन सन् १९८७ मा निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार भवन सन् १९८७ मा निर्माण गर्दा जमिनमुनिको तला, भुइँतला र त्यस माथिका दुई तला बनाइएका थिए भने बाँकी तला पछि थपिएका थिए । भवन भत्किएपछि दुर्घटनास्थल वरपर बसोबास गर्ने ५५ जनालाई सावधानीका रूपमा सुरक्षित स्थानमा सारिएको छ ।

टर्कीका सञ्चार माध्यमका अनुसार भवनको भुइँतलामा रहेको पसलकी व्यवस्थापकले गत अप्रिलदेखि नै संरचनामा चिरा देखिएको बताउनुभएको थियो । स्थानीय सञ्चार माध्यमले कमजोर निर्माण तथा त्रुटिपूर्ण सामग्रीका कारण इस्तानबुलमा करिब एक हजार २०० वटा भवन भत्किने जोखिम रहेको अनुमान गरेका छन् । यसअघि गत अगस्टमा पनि सहरमा एउटा खाली भवन भत्किएको थियो । उक्त घटनामा भने कुनै मानवीय क्षति भएको थिएन । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया