काठमाडौं, फागुन २६: Leo District Council 325 I Nepal को तेस्रो जिल्ला परिषद् बैठक तथा चौथो वार्षिक जिल्ला सम्मेलन आगामी चैत ७ गते काठमाडौंको Nepal Academy Hall, कमलादीमा आयोजना हुने भएको छ। कार्यक्रम Leo District Council 325 I Nepal द्वारा आयोजना गरिनेछ भने होस्ट क्लबका रूपमा Leo Club of Samarpan LBEF ले कार्यक्रमको व्यवस्थापन गर्ने आयोजकले जनाएको छ।
जिल्ला परिषद् बैठकमा जिल्ला ३२५ आई अन्तर्गत रहेका विभिन्न लियो क्लबका प्रतिनिधि तथा पदाधिकारीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। बैठकमा चालु लियो वर्षका गतिविधिहरूको समीक्षा, सम्पन्न कार्यक्रमहरूको मूल्याङ्कन तथा आगामी योजनाबारे विस्तृत छलफल गरिने कार्यक्रम रहेको छ। साथै संगठनात्मक सुदृढीकरण, सदस्यता विस्तार तथा क्लबहरूबीच सहकार्य र समन्वय अभिवृद्धि सम्बन्धी विषयहरूमा पनि विचार–विमर्श हुने बताइएको छ।
यस अवसरमा आगामी लियो वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व चयन प्रक्रिया समेत सञ्चालन गरिनेछ। बैठकमार्फत जिल्ला अध्यक्ष, जिल्ला उपाध्यक्ष लगायतका विभिन्न पदाधिकारीहरूको लोकतान्त्रिक निर्वाचन गरिने कार्यक्रम रहेको जनाइएको छ।
लियो सदस्यहरूबीच नेतृत्व विकास, अनुभव आदान–प्रदान तथा संगठनलाई थप सक्रिय र सशक्त बनाउने उद्देश्यका साथ जिल्ला परिषद् बैठक आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। साथै कार्यक्रममा पुरस्कार वितरण, अन्तरक्रियात्मक सत्र, शान्ति र्याली तथा रक्तदान जस्ता सेवा–मुखी कार्यक्रमहरू समेत समावेश गरिने जनाइएको छ।
यस प्रकारका जिल्ला स्तरीय कार्यक्रमहरूले क्लबहरूबीच सहकार्य, नेतृत्व विकास तथा सामाजिक सेवामा युवा सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।






