“हमासलाई रोक्न युद्ध आवश्यक परे पुनः सुरु हुनेछ”

  २ घण्टा अगाडि

जेरुसेलम, ४ फागुन : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानसँग हुने कुनै पनि सम्भावित सहमतिमा कडा सर्त अनिवार्य रूपमा समावेश हुनुपर्ने बताउनु भएको छ । उहाँका अनुसार इरानले आफ्नो आणविक सामग्री पूर्ण रूपमा हटाउनुपर्ने, युरेनियम प्रशोधन प्रक्रिया रोक्नुपर्ने तथा प्रक्षेपास्त्र कार्यक्रममाथि कडा प्रतिबन्ध लगाइनु पर्ने आवश्यक छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हालै भएको भेटपछि आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री नेतन्याहूले सम्भावित सहमतिका सबै विकल्प प्रयोग गर्ने विषयमा अमेरिकी नेतृत्व दृढ रहेको उल्लेख गर्नुभयो । यद्यपि, उहाँले इरानसँग हुने कुनै पनि सहमतिप्रति आफू सशंकित रहेको स्पष्ट पार्नुभयो ।

उहाँले इजरायल र अमेरिकाबिचको सम्बन्धलाई सहयोगबाट साझेदारीतर्फ रूपान्तरण गर्ने लक्ष्य रहेको बताउँदै स्वदेशमै आत्मनिर्भर रक्षा उद्योग विकास गर्ने योजना अघि सार्नुभयो । गाजा क्षेत्रमा जारी सैन्य कारबाहीका विषयमा उहाँले इजरायली सेनाले करिब पाँच सय किलोमिटर मध्ये एक सय पचास किलोमिटर सुरुङ संरचना ध्वस्त पारिसकेको दाबी गर्नुभयो ।

“हामीले बाँकी कार्य पूरा गर्नैपर्छ,” उहाँले भन्नुभयो, “हमासले हतियार उत्पादन गर्ने वा पुनः संगठित हुने संरचना प्रयोग गर्न नपाओस् भन्ने सुनिश्चित गर्नु आवश्यक छ ।” उहाँले इजरायलले हाल कार्यान्वयनमा रहेको युद्ध विरामलाई अवसर दिएको भए पनि आवश्यक परे हमासलाई पूर्ण रूपमा निष्क्रिय बनाउन युद्ध पुनः सुरु गर्न सक्ने संकेत गर्नुभयो ।

गत १० अक्टोबर २०२५ देखि लागु भएको युद्ध विरामपछि इजरायली कारबाहीमा छ सय एक जना प्यालेस्टिनीको मृत्यु भएको र एक हजार छ सय सात जना घाइते भएको गाजास्थित स्वास्थ्य निकायले जनाएको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया