निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

  २ घण्टा अगाडि

त्रिशूली (नुवाकोट), २४ माघः गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‘निर्वाचन प्रहरी’को भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

नुवाकोटमा निर्वाचन सुरक्षा एवम् निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्थाबारे जानकारी लिन आज यहाँ आउनुभएका गृहमन्त्री अर्यालले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन निर्वाचन प्रहरीको भूमिका प्रमुख सुरक्षा निकायसरह रहने बताउनुभयो । जिल्ला प्रहरी कार्यालयमा सञ्चालन भइरहेको निर्वाचन प्रहरीको तालिम अवलोकनपश्चात् उहाँले भन्नुभयो, “स्वयम्सेवकका रूपमा जिम्मेवारी हुने भए पनि निर्वाचन प्रहरीको व्यवहार, कार्यशैली र आचरणबाट मतदातालाई संयमित र जिम्मेवार बनाउन सहयोग पुग्दछ ।”

निर्वाचन प्रहरीको कार्यशैली असल भएमा स्वच्छ वातावरणमा निष्पक्ष रूपमा निर्वाचन गराउन सहयोग पुग्ने भएकाले जिम्मेवार भई उच्च मनोबलका साथ सेवा पु¥याउन गृहमन्त्री अर्यालले सबैलाई निर्देशन दिनुभयो ।

तालिम अवलोकनका क्रममा गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीलाई ऐतिहासिक अवसरका रूपमा लिन निर्वाचन प्रहरीलाई आग्रह गर्नुभयो । निर्वाचनमा सबैभन्दा अग्रपङ्क्तिमा रहेर मतदाताको लाइन व्यवस्थापनमा सहयोग पु¥याउनेसहित तोकिएका थप जिम्मेवारी पूरा गर्ने क्रममा दबाब र प्रभावमा नपरी साङ्गठानिक अनुशासन कायम राख्न उहाँले स्मरण गराउनुभयो ।

सरकारले निर्वाचन प्रहरीलाई नेपाल प्रहरीसरह सेवा र सुविधा उपलब्ध गराई चालिस कार्यदिनका लागि यही साता नियुक्ति दिएर तालिम सञ्चालन गर्दै आएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरीले देशभर एक लाख ३३ हजारभन्दा बढी र सशस्त्र प्रहरी बलले करिब १५ हजार निर्वाचन प्रहरी भर्ना गरेका छन् ।राष्ट्रिय समाचार समिति (रासस)

तपाईको प्रतिक्रिया